
म्याग्दी । म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हिराजस्तै टल्किने बहुमूल्य चम्किलो पत्थर (कार्ज स्टोन) ढुङ्गाखानी उत्खनन हुन नसक्दा त्यत्तिकै खेर गइरहेको छ ।
गुर्जा हिमालको फेदीमा छङ्छङ् गर्दै बगिरहेको घुर्मुखोलाको पारीपट्टी विशाल पहरोमा हिरा,मोति,सुन,चाँदी जस्ता बहुमूल्य धातुमा प्रयोग गरिने यो पत्थर उत्खनन् हुन नसक्दा पहरामा नै सीमित रहेको हो ।
हिरा, मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भइसक्दा पनि उत्खननका लागि राज्यले कुनै पहल नगर्दा ‘लङ्कामा सुन छ कान मेरो बुच्चै’ भने जस्तै भएको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
खानी तथा पुरातत्व विभागले एक दशकअगाडि उक्त ढुङ्गा खानीको पहिचान गरे पनि उत्खननका लागि सम्बन्धित निकायले चासो नदेखाउँदा उक्त खानी अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रष्ठले बताउनुभयो ।
“गुर्जाको घुर्मखोला र गुर्जा हिमालको फेदमा वर्षौँअघि पहिचानमा आएको कार्ज ढुङ्गाको खानी उत्खनन्का लागि राज्यले पहल नगर्दा त्यत्तिकै खेर गइरहेको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो “यही पुस २८ गतेदेखि आयोजना हुन लागेको आठौं म्याग्दी महोत्सवमा उक्त खानीबाट निकालिएको पत्थर पर्दशनीमा राखेर प्रचारप्रसार गर्ने र उत्खननका लागि राज्यको ध्यानाकर्षण गराउने योजना बनाएका छौँ ।”
खानी उत्खनन्का लागि आवश्यक कानुन,उपकरण,सरकारको अनुमति र स्थानीय तहको पहल हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्ज ढुङ्गाको उत्खननका लागि स्थानीयस्तरबाट सम्भव नभएको र राज्यले चासो नदेखाएका कारण यो अलपत्र अवस्थामा परेको धौलागिरी गाउँपालिका—१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । कार्ज स्टोन (ढुङ्गा)का साथसाथै सो स्थानमा हिराको खानीसमेत हुनसक्ने अनुमान गरिएको छ ।
एक दशकअघि सो स्थानको स्थलगत अध्ययन गरी नमुनासमेत ल्याइएको थियो । सोही नमुना २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । प्रदर्शन अवधिमा सबैको आकर्षण बनेको सो कार्ज ढुङ्गा त्यसपछि परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । खानी तथा भू–गर्भ विभागबाट अहिलेसम्म सो ढुङ्गाका विषयमा कुनै औपचारिक जानकारी प्राप्त नभएको बताइएको छ । कार्ज ढुङ्गाको खानी वर्षौं पहिले उत्खनन गरेजस्तो देखिने र नमूना हेर्दा हिराको खानी पनि हुनसक्ने स्थानीय बुढापाकाको भनाइ छ ।
सुन, चाँदीजस्ता बहुमूल्य धातुमा जडान गरी गहना बनाउन प्रयोग हुने कार्ज ढुङ्गाको माग बजारमा अत्यधिक रहेको जानकार बताउँछन् । गुर्जा गाउँदेखि करिब एक दिनको पैल यात्रापछि पुगिने घुर्मखोला वरपरका पहाडमा रातका समयमा बत्ती बलेझैँ गरी टल्कने कार्ज ढुङ्गा बहुमूल्य पत्थर भएको स्थानीय देवबहादुर विकले बताउनुभयो ।
कार्ज स्टोनको जेम्स क्वालिटीलाई मिलिग्रामकै लाखौँ रुपैयाँ पर्ने नेपाल सुनचाँदी तथा आभूषण व्यवसायीहरु बताउँछन् । खानीबाट प्रारम्भिक चरणमा निकालिएका ढुङ्गा (पत्थर)मध्ये औसतमा एकदेखि १५ प्रतिशतसम्म हुनसक्ने व्यवसायीहरुको भनाइ छ । ‘जेम्स क्वालिटी’ अर्थात् गहनामा प्रयोग गर्न मिल्नेस्तरका ढुङ्गा आभूषणमा प्रयोग हुन्छन् भने बाँकी ढुङ्गा सौन्दर्य प्रसाधनमा प्रयोग हुने गरेको उनीहरूको भनाइ छ । नेपाल सुनचाँदी तथा आभूषण महासंघका अनुसार त्यस्ता ढुङ्गाको प्रतिदश ग्रामको मूल्य दश लाख रुपैयाँभन्दा बढी हुन सक्छ ।
कच्चास्वरूपमा पाँच सयदेखि तीस हजार रुपैयाँसम्म पर्ने यस्ता ढुङ्गा प्रशोधन भएर जेम्स क्वालिटीमा पुगेपछि ग्राम र क्यारेटमा बिक्री हुन्छ ।
विगतमा खानी सञ्चालकले कच्चा स्वरूपमा नै यस्ता ढुङ्गाको निर्यात गर्ने गरेका थिए । दुई वर्षदेखि सरकारले कच्चास्वरूपका यी खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
खानी नियमन गर्न भरपर्दो कानुन नभएका कारण नयाँ नीति ल्याएर मात्र बिक्रीवितरण गर्ने र निकासी गर्ने भन्दै रोकिएको बताइएको छ ।
औपचारिक रूपमा निकासी रोकिएको भए पनि खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा यस्ता ढुङ्गाको निकासी कायम रहेको गुनासो व्यवसायीले गरेका छन् । यस्ता बहुमूल्य ढुङ्गाको चोरी तस्करी नियन्त्रणका लागि नेपालमै प्रशोधन गर्नेलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको छ ।
साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयवासीले घरेलु प्रविधिको प्रयोग गरेर पत्थर निकाल्ने प्रयास गरे पनि सम्भव नदेखिएपछि फर्किएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । “खानी सञ्चालनमा कानुनी प्रक्रिया नै झन्झटिलो देखिन्छ”, उहाँले भन्नुभयो 'प्रदेश सरकारबाट कानुनलाई अगाडि बढाउन सकेमा यस्ता खानी उत्खनन गर्न सकिन्छ ।’
बजारमा अत्यधिक माग रहेको धातुमा प्रयोग हुने कार्ज ढुङ्गाको खानी उत्खनन गर्नसके स्थानीयवासीले रोजगारीका साथै स्थानीय सरकारको समेत आम्दानीमा सघाउ पुग्ने विश्वास उहाँको रहेको छ ।
खानी उत्खननका लागि सरकारले अनुमति दिई आवश्यक प्रविधि उपलब्ध गराइदिने हो भने यहाँबाट अर्बौँ रुपैयाँ मूल्यबराबरको कार्ज ढुङ्गा निकाल्न सकिने उच्च सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । गुर्जाका भीरमा कार्ज खानी मात्र होइन, तामा, शिलाजित, खरी, चुनढुङ्गाका खानी वर्षौंदेखि बन्द अवस्थामा रहेका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच