
-शुभाकर विश्वकर्मा
नेपालगञ्ज । जिल्लाको कोहलपुर–२ आनन्दनगरमा निर्माणाधिन दलित सांस्कृतिक संग्राहलय अलपत्र अवस्थामा छ । संग्राहलय निर्माणका लागि बजेट अभाव हुँदा अलपत्र अवस्थामा परेको हो । लुम्बिनी प्रदेशस्तरीय संग्राहलय बनाउने उद्देश्यसहित निर्माण थालिएको लामोसमय बितिसक्दासमेत निर्माण कार्य सम्पन्न हुन नसकेको हो । संग्राहलय निर्माणका लागि हालसम्म करोडौं रकम खर्च भइसकेको छ । तर, निर्माण सुरु भएको ६ वर्ष बितिसक्दासमेत आधा कामपनि सम्पन्न भएको छैन ।
सांस्कृतिक संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर विश्वकर्मा बजेट अभाव भएका कारण संग्राहलय निर्माणमा कठिनाई भएको बताउनुहुन्छ । उहाँका अनुसार २०७६ सालदेखि संग्राहलय निर्माण कार्य सुरु गरिएको थियो । संग्रहालयको निर्माण कार्य पूरा गर्नको लागि विभिन्न क्षेत्रमा सहयोगको अपील गर्दासमेत माग सुनुवाई हुन सकेको छैन । तीन वटै तहका सरकारसँग समितिले वर्षेनी बजेट माग गर्दै आएको छ । तर,बजेट व्यवस्थापन नहुँदा संगाहालय अलपत्र पर्ने अवस्थामा पुगेको अध्यक्ष विश्वकर्माको भनाइ छ ।
संग्रहालयको सम्पूर्ण भौतिक संरचना निर्माणको लागि ३ करोड ७९ लाख लागत लाग्ने डीपीआरमा उल्लेख छ । डीपीआर अनुसार संग्राहलयको लागि तीन तले भवन, गार्ड रुम, अफिस, प्रशासनिक कार्यालय,सार्वजनिक शौचालय निर्माण गरिनेछ । तर, अहिलेसम्म गेट निर्माण गरिएको छ । दुई तले घरमात्रै निर्माण भएको छ । अझै ५० प्रतिशत काम हुन बाँकी छ । बाँकी काम कहिलेसम्म सकिन्छ भन्ने एकिन छैन ।
‘हामीले सबै तहका सरकारलाई वर्षेनी बजेट माग गर्दै आएका छौँ । तर हाम्रो माग सुनुवाई हुन सकेको छैन । झन स्थानीय सरकारले संग्राहलय निर्माणको लागि बजेट माग गर्दापनि सहयोग गरेको छैन,’विश्वकर्मा भन्नुहुन्छ । अध्यक्ष विश्वकर्माले भने जस्तै कोहलपुर नगरपालिकाले संग्राहलय निर्माणको लागि बजेट नै विनियोजन गरेको देखिँदैन । यसअघि लूटबहादुर रावत नगर प्रमुख हुँदा नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यतिबेला नगरपालिकाले प्रदान गरेको १० लाखमध्ये डीपीआर निर्माण र माटो परिक्षणमा खर्च गरिएको उहाँले बताउनुभयो । त्यसमध्ये ५ लाख डीपीआर निर्माण र बाँकी बजेट माटो परिक्षण र पर्खाल निर्माणमा खर्च गरिएको अध्यक्ष विश्वकर्माको भनाइ छ । त्यसपछि नगरपालिकाभित्रै प्रदेशस्तरीय संग्रहालय निर्माण भइरहदासमेत स्थानीय सरकारले उपेक्षा गरेको देखिन्छ । स्थानीय सरकारलाई बारम्बार बजेट माग गर्दापनि सुनुवाई हुन नसकेको उहाँले बताउनु भयाे ।
तत्कालीन प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज अथकले सांसद विकास कोषमार्फत १५ लाख रुपैयाँ विनियोजन गर्नु भएको थियो । उक्त बजेटबाट संग्रहालयको जग हालिएको थियो । निर्माण कार्य सुरु भएको पछिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले संग्राहलय निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजित ग¥यो । स्थानीय साझेदारी विकास कार्यक्रममार्फत संग्रहालयको आएको बजेटको लागि भने तत्कालीन प्रदेश सभा सदस्या पार्वती पुन (उषा)ले पहल गर्नुभयो । सोही वर्ष संघीय सरकारबाट पनि ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो ।
चालू आर्थिक वर्षमा भने संग्रहालय निर्माणका लागि अथककै पहलमा संघीय सरकारबाट ४५ लाख रुपैयाँ विनियोजन भएको छ । उक्त रकमबाट संग्रहालयको बाँकी संरचना निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ । प्रक्रिया टुंगिएपछि निर्माण कार्य चाँडै सुरु हुने अध्यक्ष विश्वकर्माको विश्वास छ । हालसम्म संग्राहलय निर्माणको लागि १ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच