काठमाडौं । यस वर्ष हालसम्मकै धेरै ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन उत्पादन गत आर्थिक वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले उत्पादन बढेको हो ।
औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको मन्त्रालयले जनाएको छ ।
वर्षे र चैते दुवै गरी चालु आर्थिक वर्ष २०८१/०८२ मा कुल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो, जुन गत आर्थिक वर्षको तुलनामा १.२८ प्रतिशतले कम हो । औसत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रतिहेक्टरमा पुगी हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको मन्त्रालयले जनाएको छ । कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कुल धान उत्पादन वृद्धि भएको छ । बाँकी तीन प्रदेशको उत्पादन भने नकारात्मक रहेको छ । पछिल्लो विश्लेषणअनुसार रुकुमपश्चिममा धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा कम रहेकाले समग्र कर्णाली प्रदेशको उत्पादन घट्न गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी नवलपरासी(पूर्व) केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखा परी उत्पादन घट्दा र लमजुङ जिल्लामा धानबाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धानबाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादन घट्न गएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्ला वर्षमा जस्तै यस वर्ष पनि चैते धानको उत्पादकत्व वर्षे धानभन्दा उच्च रहेको छ ।
कृषि क्षेत्रको जिम्मेवारीमा रहेका प्रादेशिक मन्त्रालयहरूबाट प्राप्त जिल्लागत धान बालीसम्बन्धी तथ्यांक इसिमोडकोे प्राविधिक सहयोगमा सेटेलाइट–रिमोट सेन्सिङ प्रयोगबाट प्राप्त यस वर्षको तराईका २१ जिल्लामा लगाइएको वर्षे धान बालीको क्षेत्रफलका आँकडा, जल तथा मौसम विज्ञान विभागबाट प्रकाशित मनसुन अवधिमा भएको वर्षाको विवरण, वर्षे धान रोपाइँ विवरण, रासायनिक मलको उपलब्धता, रोग तथा किराको प्रकोप, असोजमा भएको बाढीबाट धान बालीमा परेको असर, उन्नत बिउको आयात विवरण, बाली कटानीबाट प्राप्त विवरण र २०८१ मंसिर २५ देखि मंसिर २७ सम्म सात प्रदेशका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कृषि तथ्यांक प्रमाणीकरण कार्यशालाबाट प्राप्त नतिजाका आधारमा चालु आर्थिक वर्षको धान बाली उत्पादनसम्बन्धी प्रारम्भिक अनुमान तयार गरिएको हो ।
त्यसो त धान उत्पादन बढेको भए पनि नेपालमा वार्षिक धानको माग ६७ लाख मेट्रिक टन रहेकाले आयातको विकल्प देखिँदैन । तथ्यांकअनुसार अझै सात लाख ४४ हजार पाँच सय २४ मेट्रिक टन धान अपुग छ । एक सय केजी धानबाट ६२ केजी चामल तयार हुन्छ । हालको उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन धानबाट ३६ लाख ९२ हजार तीन सय ९५ मेट्रिक टन चामल तयार हुन्छ । त्यसैले यस वर्ष तीन लाख सात हजार छ सय पाँच मेट्रिक टन चामल आयात गर्नुपर्नेछ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विभिन्न मुलुकबाट धान छ अर्ब पाँच करोड र चामल छ अर्ब ७३ करोडको आयात भएको छ । खाद्य सुरक्षाका साथै मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड मानिएको धान उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) तथा आर्थिक वृद्धिदर बढ्ने र धान उत्पादन घट्दा यी सूचकहरू घट्ने गर्छ । जिडिपीमा धानको योगदान करिब पाँच प्रतिशत रहेको छ । कृषिको कुल (एजिडिपी) मा धानको योगदान करिब १५ प्रतिशत रहेको छ । पछिल्लो सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार कृषिमा आबद्ध हुने जनसंख्या घटेर ६०.४ प्रतिशतमा सीमित भएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा