काठमाडौं । आर्थिक अनियमिततामा मुछिएपछि प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट बर्खास्त गर्नुभएको छ ।
पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने र होस्टलको समेत व्यवस्था गरिदिने भन्दै ३८ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोप पोखरेलका स्वकीय सचिव अनिलकुमार पोख्रेलमाथि लागेको छ ।
मोरङको रंगेली नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने स्वकीय सचिव पोखरेलले छोरीलाई पार्टीको कोटाबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ३० हजार लिएको आरोप छ ।
उच्च अदालत विराटनगरले पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमै परमादेश दिएको थियो । उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भएको छ ।
पोखरेलले संघीय संसद सचिवालयलाई स्वकीय सचिवलाई पोखरेललाई हटाएको जानकारीसहितको पत्र पठाएका छन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाउनु भएको थियो ।
पोखरेलले संसद सचिवालयमा लेखेको पत्रमा भनिएको छ, ‘निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।’
पोखरेलले चौधरीबाट रकम लिएको स्वीकार गरेका छन् । तर, त्यो रकम एमबीबीएसमा नाम निकाल्न नभएको पोखरेलको दाबी छ । पीडितले आफू ठगिएपछि इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए ।







