नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र व्यक्तित्वको अहंकार र दम्भको चूडान्त अवस्था हाल छताछुल्ल भएर पोखिन पुगेको छ । कम्युनिष्ट पार्टीहरूमा देखिने सर्वासत्तावादको यो चरम अवस्था हो भनेर टिप्पणी गर्नेहरूको कमी छैन तर यस प्रकारको प्रवृत्तिले पार्टीलाई फाइदा होला वा बेफाइदा त्यो अहिले भन्न सकिने अवस्था होइन । एकजना डा.भीम रावलको कारबाहीको मात्र कुरा भएको भए यसलाई फरक प्रकारले हेर्न सकिने थियो तर उहाँलगायत अरू पनि कारबाहीमा परेका छन् । यसको कारण भने पार्टीमा भिन्न मत राखेकैले हो । भिन्न मत राख्न नपाउने हो भने बहुदलीय प्रजातन्त्रको मर्ममाथि नै प्रश्न उठ्न सक्ला, होइन यस प्रणालीलाई अन्तरहृदयदेखि नै स्वीकारेको हो भने एमालेले किन यस्तो निर्णय गर्यो त ?
के यसबाट एमालेलाई कुनै क्षति नहोला ? नेकपा एमालेले निष्काशन गरेपछि बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर डा.रावलले एमाले अध्यक्ष ओलीमाथि विषबमन नै गर्नुभयो । ज्यानमारा मुद्दामा कारागार बसेको, संसद् विघटन, पार्टीको एघारौं महाधिवेशन, भारतीय खुफिया एजेन्सी र‘अ प्रमुखलाई भेटेकोदेखि विभिन्नकालखण्डमा भएका घटनाको सिलसिलेवार बुँदा बनाएर ओलीमाथि प्रश्न गर्ने रावलमात्र होइन, विभाजनमा जाने कम्युनिष्ट नेताहरूबीचको वाकयुद्ध उदेकलाग्दो हुने गरेको छ ।
हुन त नेकपा एमालेमा डा.रावलमात्रै होइन त्यसको दृष्टान्त योगेश भट्टराईलाई पनि लिन सकिन्छ । पहिले माधव नेपालको साथ लाग्नुभएका भट्टराई पछि एमालेमै फर्किनुभयो । पहिले साथ छोड्दा ‘बैगुनी केटो’ र पछि आफ्नो साथ लाग्दा ‘गुनी केटो’ मानियो । क्षमता भएर पनि साथ छोडेका अरू धेरै छन् । घनश्याम भुसाल र रामकुमारी झाँक्रीहरूमा युवा जोस, जाँगर र क्षमता थियो तर ती सबै लाखापाखा भए । अलिक पछाडि फर्किएर हेर्ने हो भने राधाकृष्ण मैनाली राजा ज्ञानेन्द्रको कित्तामा पुगेर आफैं पाखा लाग्नुभयो, सिपी मैनालीले किन एक्लै बसेर माले पार्टी बनाउनुपथ्र्यो ? आखिर उहाँको पार्टी श्रीमान्-श्रीमतीको पार्टी बन्नपुगेको छ । त्यतिमात्र होइन साहना प्रधान र वामदेवले पनि पार्टी विभाजनको बाध्यात्मक परिस्थिति व्यहोनुपरेको थियो । पार्टीभित्र बस्न पनि नसक्ने र बाहिरिएर पनि सफल बन्न नसक्ने अवस्थामा पुर्याएर तिनलाई पछार्ने कुशल खेलाडीका रूपमा ओलीलाई लिनुपर्ने हुन्छ ।
सबै वामपार्टीहरू एक भएपछिको सफलता अद्वितीय थियो तर आफू हुन पाए ठीक र अर्को भयो भने बेठीक मान्ने प्रवृत्तिले जुटेका वामपन्थीहरू एकाएक पुनः छरिन पुगेका हुन् । नत्र नेताहरूको अनिकालकै कारण एकमात्र नेता ओली भन्ने मान्यता त्यसबेला पनि स्थापित बनेको त थिएन । नेकपाभित्र त्यसबेला केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नरायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, शक्ति बस्नेतहरू एकीकृत बन्न पुग्नुभएको थियो । उहाँहरूमध्ये केही त अहिले कहाँ हुनुहुन्छ भन्नेसम्म जानकारी छैन । ओलीले प्रचण्डका लागि ठाउँ नछोडिदिनाले नेकपा एकीकृत समाजवादी जन्मिनपुगेको हो भने माओवादी पुनः माओवादी बन्न पुगेको हो ।
तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवादको मान्यता अघिसारेर २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरेको एमालेले नै यसको सबैभन्दा बढी प्रयोग र उपयोग गर्न पाएको छ । नेपाली राजनीतिमा सधैं अर्गेलो बन्ने एमालेले नेपाली कांग्रेसका नेता गिरिजाप्रासाद कोइरालाको समर्थनबाट माधवकुमार नेपाललाई प्रधानमन्त्री बनायो तर नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई मत नदिएर संसद्मा तटस्थ बसेर १७ पटकसम्म उहाँको बाटो छेक्यो र झलनाथ खनाललाई प्रधानमन्त्री बनायो । ‘गुनले गुन खान्छ म तँलाई खान्छु’ भन्ने बुढो बाघको उखान एमालेको इतिहास र वर्तमानमा पुष्टि हुनआउँछ । पहिले महासचिवात्मक प्रणाली र अहिले अध्यक्षात्मक प्रणाली अपनाउँदै आएको पार्टी एमालेमा हाल सर्वसत्तावादी प्रवृत्ति हावी भएको पाइएको छ ।
वामदेवको राजनीतिक निष्क्रियताको अवस्था सिर्जना हुनु, हाल एकीकृत समाजवादी पार्टीमा वरिष्ठ नेताका रूपमा प्रवेशको तयारी हुनुका साथै हाल उपाध्यक्षसमेत भइसक्नुभएका प्रभावशाली नेता डा.भीम रावललाई पार्टीबाट निष्काशन गर्नुलाई यसको खँदिलो दृष्टान्तका रूपमा लिन सकिन्छ । उत्तर कोरियाका नेता किम जोनको शासनमा उनका सामु उपरखुट्टी लगाउने र हाई गर्ने व्यक्तिलाई समेत मृत्युदण्ड दिइने कम्युनिष्ट पार्टीको मिथक नेपालमा पनि भित्रिँदै गएको छ भनिहाल्न नमिल्ला तर एमालेमा यसखालको प्रवृत्ति भने बढ्दै गएको अवस्था भने यथार्थ नै हो । वर्तमान अध्यक्षको विरुद्ध अध्यक्षको उम्मेदवारी दिने रावलमात्र होइन पार्टीमा आफ्नो दृष्टिकोण निर्भीकताका साथ राख्न आँट गर्ने महिला नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिमिसिल्नालाई कारबाही हुनुलाई राजनीतिक विश्लेषकहरूले एमालेभित्रको सर्वसत्तावादकै रूपमा हेरेका छन् ।
पार्टी खोल्नु, चलाउनु र राष्ट्रिय पार्टीका रूपमा स्थापित बन्नसक्नु ठट्टाको विषय होइन । डा.बाबुराम भट्टराईको नयाँ पार्टीदेखि तराईका अनेकौं क्षेत्रीय पार्टीहरूलाई हेर्ने हो भने त्यही इतिहास नै प्रमाण बन्नेछ । वर्तमानको रास्वपाको स्थायित्वमाथि सन्देह रहेकै छ । त्यस अर्थमा डा.रावलले पनि अर्को पार्टी खोलेर चलाउन सक्नुहोला/नहोला । त्यसो भएरै उहाँलाई घरको न घाटको बनाउनकै लागि एमालेबाट गलहत्याइएको हो भन्न गाह्रो मान्नु पर्दैन तर इतिहास त निश्चय लेखिन्छ नै । त्यसबेला ती निष्पक्ष रूपमा इतिहास लेख्न प्रयास गर्ने इतिहासकारहरूले यस्तो इतिहासको समीक्षा गर्लान् नै ।
वर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाल भीम रावलले खोतली–खोतली बुधबार आफू पार्टीमा रहेका बेला लुकाउन बाध्य भएका गोप्य विषयसमेत सार्वजनिक हुनेगरी उहाँलाई गर्नुभएका ६ दर्जनभन्दा बढीका प्रश्नहरूको जवाफ त दिँनैपर्छ, अन्यथा भोलिका दिनमा उहाँको मौनता रहृयो भने त्यसबाट हालको सांगठनिक रूपमा मजबुत भनिएको पार्टी एमालेलाई धक्का पुग्ने निश्चित छ । हुन त रावलको भनाइलाई नेकपा एमालेले खण्डन गरेको छ । नेता रावलले सार्वजनिक गरेको ३१ पृष्ठको प्रश्न र आरोपलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दस्तावेजको कपी पेस्टको संज्ञा एमालेले दिएको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले रावलले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको दस्तावेज सोही प्रकृतिको भएको टिप्पणी गर्नुभएको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा