काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि बेलायती राजदूत रोब फेनसँग भेट गरेको छ । उक्त भेटमा विशेषतः दुई देशबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप सिकाइका क्षेत्रमा नेपाली डायस्पोराको भूमिकालगायतका विषयमा महत्वपूर्ण अन्तरक्रिया भएको थियो ।
सो अवसरमा अध्यक्ष केसीले नेपाली डायस्पोराले नेपालको जिडिपीमा पु¥याइरहेको योगदानलगायत लगानी, शिक्षा स्वास्थ्य, रोजगारी, परोपकारी क्षेत्रमा भइरहेको गतिविधि र कोरोना समयमा नेपाली डायस्पोराले गरेको सहयोगबारे जानकारी गराउनुभएको थियो । नेपाल सरकारले सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारसहित गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको र लगानीका लागि पनि डायस्पोरालाई प्रोत्साहन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
उपाध्यक्ष डा. विनोद श्रेष्ठले अस्ट्रेलियामा डायस्पोराका विभिन्न गतिविधि, ज्ञान, सीप र प्रविधिका क्षेत्रमा भएको प्रगति र त्यसलाई नेपाल भित्र्याउन भइरहेको पहलबारे जानकारी गराउनुभयो भने महिला उपाध्यक्ष रोजिना प्रधान राईले बेलायतमा रहेका ब्रिटिस गोर्खाको मुद्दा स्मरण गराउँदै दुई देशबीच उच्च तहबाटै उक्त मुद्दाको सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला बालबालिका तथा बेलायतमा रहेका नेपाली विद्यार्थीका विषयमा नेपाली डायस्पोराले गरिरहेको पहलबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा नेपाल फेस्टिभल, दोस्रो पुस्ताको डायस्पोरालगायतका विषयमा पनि छलफल भएको थियो ।
भेटमा राजदूत रोब फेनले युवाहरूको रोजगारी सिर्जना र त्यसका लागि सहकार्यको अवसरलाई जोड दिँदै दुई देशबीचको सहकार्य अझ प्रगाढ बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रवासमा रहेका नेपालीहरूको सक्रिय सहभागिता नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै उहाँले यथेष्ट लगानी नेपालमा भित्रिन नसक्नुको कारणबारे खोजी गरी बढीभन्दा बढी लगानी भिœयाउन जोड दिनुपर्ने बताउनुभयो । शिक्षा, व्यापार, युवा रोजगारीका क्षेत्रमा नेपाली डायस्पोरासँग सम्भावित सहकार्य हुन सक्ने उहाँको भनाइ थियो । उक्त भेटमा संघका सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको समेत उपस्थिति थियो ।






