काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटल वाग्मतीको ३०८ नम्बर कोठामा मृत भेटिएकी बौद्धकी २१ वर्षीया सुस्मिता खड्कासँग कागेश्वरी मनोहरा बस्दै आएका ओखलढुंगाकाका २३ वर्षीय देवबहादुर थापा बसेको खुलेको छ ।
सुस्मिताको मृत्युपछि भने उनी भागेर ओखलढुंगा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीले थापाको खोजीका लागि एउटा टोली नै ओखलढुंगा पठाएको छ । ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।’’ प्रहरी स्राेतले भन्याे ।
स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो होटलकाे ताला फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताउनु भयो ।
ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केही बेरमा आउँछु’ भन्दै निस्किएको लामो समयसम्म नआएपछि होटल साहुले प्रहरीलाई खवर गरेको थियो ।
सुस्मिता जापान जाने तयारी स्वरूप उनले भाषा कक्षा पढिरहेकी थिइन्।
सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा सुस्मिताको शव बुधबार भेटिएको थियो । थापाले नशालु पदार्थ सेवन गराई वा कुनै थप अर्को विधिले हत्या गरेका हुन् भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले बतायो । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ ।
थापा र सुस्मिता पुस १६ गते (मंगलबार) कोठामा बस्न पुगेको खुलेको छ ।
जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनायो ।
देवबहादुर केही समय जापान बसेर फर्किएका थिए । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका उनी काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिकामा बस्दै आएका थिए । मृतक सुस्मिताको घर पनि आलापोटमै हो ।
फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी आज (बिहीबार) फर्किने तयारीमा थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता