काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको दाबी गर्नुभएको छ । आइतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका ओलीले मधेशको विकास एमालेले नै गर्ने दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार छ । मुलुकमा रहेका बेथिति, अस्थिरतालाई हटाउन यो सरकार बनेको हो ।’
विगतमा एमाले नेतृत्वको सरकारले थालनी गरेर बीचमा पार्टी सरकारमा नहुँदा अधुरा र अलपत्र परेका विकास निर्माणका योजनाहरू अहिलेको सरकारले सम्पन्न गर्ने उहाँले बताउनुभयो । ओलीले मुलुकमा राजनीतिक क्रान्ति भइसकेकाले अब जनताको जीवनमा परिवर्तन ल्याउने क्रान्ति आवश्यक भएको पनि बताउनुभयो । ‘हामी क्रान्तिकारी हौँ । क्रान्तिमा लाग्नु भनेको तोडफोड र जुलुस गर्नु होइन, अब जीवनमा परिवर्तन ल्याउने क्रान्ति गर्न आवश्यक छ । मधेशका मसिया भन्ने पार्टीका नेताहरूले विकास निर्माणमा नभई संविधानका धाराको राजनीतिमा जनतालाई अलमल्याउने काम गरे । हामी त्यस्तो गर्दैनौँ । मान्छेलाई अधिकारसहित सम्पन्न बनाउन उत्पादन र उद्यमशीलतालाई हामीले महत्व दिएका छौँ । यो सरकारले समृद्धि र सुशासनका लागि काम गर्नेमा ढुक्क हुनुहोस् ।’
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब तर्क गरिहनु आवश्यक छैन । व्यवहारबाट पुष्टि भइसकेको छ । देश बनाउने पार्टी एमाले नै हो र एमाले मात्रै हो । त्यसकारण म अरू पार्टीमा रहेका साथीहरूलाई पनि एमालेमा आउन आग्रह गर्दछु । मलाई विश्वास छ मधेश प्रदेशको आठै जिल्लामा प्रवेशको लहर फैलिनेछ ।’
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोशी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने जस्ता काममा विगतमा आफू सरकारमा हुँदा महत्व दिएको र अब पुनः ती कामले गति लिने बताउनुभयो । उहाँले स्थानीयवासीको मागबमोजिम पर्साको पोखरियाको नगर अस्पताललाई स्तरोन्नति गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताउँदै चाँडै इलाका प्रशासन कार्यालय स्थापना गरिने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री ओलीले बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मान गर्न तथा महिला दिदी बहिनीलाई सामाजिक र राजनीतिक रूपमा अगाडि बढाउन सहयोग गर्न आग्रह गर्दै महिला र युवालाई अत्यधिक रूपमा परिचालन नगरेसम्म जनतामा भिजेको बलियो पार्टी बनाउन नसकिने भएकाले त्यसअनुसार काम गर्न स्थानीय पार्टी नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा सो गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल लगायतलाई विभिन्न पार्टीबाट एमालेमा प्रवेश गराइएको थियो ।






