झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापा आउने क्रम बाक्लिएको छ । उहाँ भदौ २९ गते झापा आएर ३० गते बिर्तामोडमा कार्यक्रममा सहभागी हुनु भएको थियो ।
फेरि अध्यक्ष दाहाल पुस १५ गते गौरीगञ्जमा हुने सोही प्रकृतिको कार्यक्रमका लागि झापा आउन लाग्नुभएको हो । साढे तीन महिनाको बीचमा दाहाल झापा आउने पक्का भएको हो ।
पर्सीको कार्यक्रममा ७५० जना व्यक्ति पार्टी प्रवेश गर्ने नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले बताउनु भएको छ। कांग्रेस, एमाले, राप्रपा लगायतका नेता कार्यकर्ता माओवादी पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको तामाङले जानकारी दिनुभयो।
'पार्टी प्रवेश गर्नेको सूचि तयार भइरहेको छ, संख्या बढ्न सक्छ' केन्द्रीय सदस्य तामाङले भन्नुभयाे, 'विगतमा विभिन्न पार्टीमा रहेर नेतृत्व गरिसक्नु भएको र सुशासनको पक्षमा लामबद्ध हुन आतुर व्यक्तिहरु पार्टी प्रवेश गर्दै हुनुहुन्छ , गोपनियताका कारण आज नाम सार्वजनिक गर्न मिल्दैन, भोलि सञ्चारमाध्यमलाई नामावली नै उपलब्ध गराउँछौँ।' पार्टी प्रवेश गर्नेमा स्थानीय सरकारको नेतृत्व गरिसकेका व्यक्तिसमेत रहेको केन्द्रीय सदस्य तामाङले जानकारी दिनुभयो ।
पार्टी प्रवेशगर्नेहरूको नाम लिष्ट तयारी गर्न पार्टीका कोशी प्रदेश सचिवालय सदस्य दुर्गा चौलागाईँ (श्रीकान्त) को नेतृत्वमा पालिका इन्चार्ज, अध्यक्ष सम्मिलित टोलीले काम गरिरहेको माओवादी केन्द्रका झापा संयोजक अग्नि आचार्यले जानकारी दिनुभयो।
कार्यक्रम सफल पार्न बुधबार नै सो पार्टीले गौरीगञ्जमा कोशी प्रदेश र झापाका अगुवा कार्यकर्ताको भेला सम्पन्न गरिसकेको छ। भेलालाई पार्टीका कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले सम्बोधन गर्दै पछिल्लो समय पार्टीको लोकप्रियता वृद्धि हुँदै गएको बताउनु भएको थियो । पार्टीलाई ०६४ कै अवस्थामा फर्काउन पश्चिमबाट क्रान्ति सफल पारेको पार्टीलाई पूर्वको चेतसँग जोड्ने काममा प्रगति भइरहेको जिकिर गर्नुभएको छ ।
सो कार्यक्रमका लागि अहिले पार्टीका केन्द्रीय सदस्यहरु तामाङ, हरिकुमार राना, लक्ष्मी न्यौपाने, धर्मशीला चापागाईं, झालकसिंह दर्लामी, ज्योतिसिंह दर्लामी, भोगेन्द्र चौलागाईं, प्रदेश उपाध्यक्ष मणिकुमार साङ्पाङ लगायत जिल्ला तहका नेता गौरीगञ्ज केन्द्रित भएका छन् ।






