
भक्तपुर । भक्तपुरको ऐतिहासिक नगर मध्यपुरथिमिमा सुरु भएको मध्यपुर महोत्सव–२०८१ ले नेपालको सांस्कृतिक र आर्थिक क्षेत्रमा नयाँ उत्साहको सञ्चार गरेको छ। यसले नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपेको छ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गर्दै नेपालको सांस्कृतिक सम्पदाले देशको आर्थिक विकासमा ठूलो भूमिका खेल्न सक्ने बताउनु भयो।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आफू जन्मेको ठाउँको परिवेशलाई आत्मसात गर्दै त्यसको संरक्षण र प्रवर्द्धन गर्नु वर्तमान पुस्ताको कर्तव्य भएको धारणा व्यक्त गर्नुभयाे । “पुर्खाले छाडेर गएका सीप, कला र संस्कृतिलाई व्यावसायिक बनाउने हो भने आर्थिक अवसर यहीँ प्रशस्त पाइन्छ। मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था सुधार्न मद्दत पुर्याउनेछ । ” उहाँले भन्नुभयो ।
मध्यपुर महोत्सव–२०८१ ले स्थानीय स्तरमा उत्पादन हुने वस्तु, सांस्कृतिक गतिविधि, र ऐतिहासिक सम्पदाको संरक्षण र प्रचारमा विशेष ध्यान दिएको छ। तीन दिनसम्म चल्ने यो महोत्सवमा पाँच सयभन्दा बढी स्टल राखिएका छन्, जसमा हस्तकला, घरेलु उत्पादन, परम्परागत नेवारी परिकार, र माटोको भाँडाको प्रदर्शनी गरिएको छ। माटोको भाँडाहरू बनाउने प्रक्रिया प्रत्यक्ष देखाउन चपाचो क्षेत्र विशेष आकर्षण बनेको छ। यसले परम्परागत सीपको महत्त्वलाई उजागर गर्दै नयाँ पुस्तालाई आफ्ना जरा सम्झाउने प्रयास गरेको छ।
महोत्सवमा दाफा भजन, नीलबाराही नाच, भैल नाच, र जिब्रो छेड्ने जात्रालगायतका नेवारी सांस्कृतिक गतिविधिहरू प्रदर्शन गरिएका छन्। यसले महोत्सवलाई सांस्कृतिक पर्वको रूपमा मात्र होइन, स्थानीय समुदायलाई एकताबद्ध गर्ने माध्यमका रूपमा पनि प्रस्तुत गरेको छ। महोत्सवले २५ स्थानमा सांस्कृतिक नृत्य, बाजा प्रदर्शन र ४५ पाटीपौवामा दाफा भजन प्रस्तुत गरेको छ।
महोत्सवमा नेवारी भोज (भ्वय) र परम्परागत ऐला (रक्सी) उत्पादनको प्रदर्शनीले दर्शकहरूको ध्यान खिचेको छ। यहाँका परम्परागत खानाहरूले स्थानीय उत्पादनको महत्त्व मात्र नभई सांस्कृतिक पहिचानलाई पनि उजागर गरेका छन्। महोत्सवमा ५५ थरीका गेडागुडी, लिच्छवी, मल्ल र किरातकालीन सिक्काका साथै १५३ देशका मुद्राको प्रदर्शनी गरिएको छ। यसले नेपालकै इतिहास र सम्पदाको जानकारी प्रदान गर्दै पर्यटकहरूलाई आकर्षित गरेको छ।
नगरपालिकाले महोत्सवलाई स्थानीय उत्पादनको प्रवर्द्धन र पर्यटन विकासको माध्यमका रूपमा सञ्चालन गरेको हो। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले महोत्सवले मध्यपुरथिमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार , “यो महोत्सवले हाम्रो सम्पदा र संस्कृति जोगाउँदै स्थानीय उत्पादनको बजारीकरण गर्न सघाउनेछ। पर्यटन प्रवर्द्धनमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने हाम्रो उद्देश्य हो।”
महोत्सवको अर्को आकर्षण भनेको विभिन्न जात्रा, पर्व, र परम्परागत विधिहरूको प्रदर्शन हो। जिब्रो छेड्ने जात्रा, व्रतबन्ध, बेलविवाहका डमी प्रदर्शन, र परम्परागत बाजाहरूको प्रदर्शनीले दर्शकहरूको उत्साह थपेको छ।
मध्यपुरथिमिका पुराना बस्तीहरूमा महोत्सवका विविध दृश्यहरू सजाइएका छन्। बालकुमारीदेखि नगदेश, चपाचो, बोडे, र नीलबाराही टिगनीसम्मका चोक र गल्लीहरू महोत्सवमय भएका छन्।
पर्यटकीय दृष्टिकोणले महोत्सवले भक्तपुर, नगरकोट र चाँगुनारायण क्षेत्रलाई थप आकर्षक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। मध्यपुरथिमिलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित आयोजना गरिएको यो महोत्सवले देशकै आर्थिक अवस्था सुधार्न योगदान गर्नेछ।
महोत्सवको उद्घाटन समारोहमा संघीय सांसदद्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले पनि मन्तव्य दिनु भएकाे थियाे। उहाँहरूले महोत्सवलाई सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
महोत्सवले मध्यपुरथिमिलाई पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि सारेको छ। नगरपालिकाका स्थानीयबासी श्याम मानन्धरको अनुसार २०५५, २०५८ , २०६१ र त्यसपछि अहिले २०८१ मा आयोजना गरिएको यो महोत्सवले स्थानीय समुदायलाई आफ्ना परम्परागत सीप, कला र उत्पादनप्रति गर्व गर्न प्रेरित गरेको छ।
मध्यपुर महोत्सव केवल सांस्कृतिक उत्सव मात्र नभई आर्थिक समृद्धिको आधारस्तम्भका रूपमा विकसित भएको छ। यसले नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै आर्थिक गतिविधिलाई गतिशील बनाउने विश्वास गरिएको छ। मध्यपुर महोत्सवले नेपाललाई विश्वसामु सांस्कृतिक गन्तव्यका रूपमा प्रस्तुत गर्न मद्दत पुर्याउनेछ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच