सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक-सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ । राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।
हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गर्नुभएपछि दक्षिण कोरिया राजनीतिक संकटमा परेको छ । यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ । तर, कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोक्नुभयो । त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।
‘हामीले प्रस्ताव पेस गरेका छौं...र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौं’, सांसद पार्क सुङ-जुनले हानविरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भन्नुभयो, ‘हामी यसलाई भोलि मतदानमा राख्नेछौं ।’ ‘हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ’, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान-डाएले पत्रकारहरूलाई भन्नुभयो ।
यदि अदालतले थप तीन न्यायाधीश बिनै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एकमात्र असहमति मतले युनलाई पुनःबहाली गर्नेछ । हानले उहाँको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताउनुभएको छ ।
‘हाम्रो संविधान र कानुनमा अन्तर्निहित सुसंगत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्तिलगायत महत्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो’, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गर्नुभयो, ‘जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबिच पहिले सहमति हुनुपर्छ ।’
यदि विपक्षीले शुक्रबारको मतदानमा हानविरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ । त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ-मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts