काठमाडौं । एमाले पूर्वउपाध्यक्ष भीम रावलले नेकपा एमालेबाट आफूलाई निष्कासन गर्ने निर्णय सत्ता उन्माद भएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा लेख्दै नेता रावलले आफूलाई एमाले सदस्यबाट निष्कासन गरिनु निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको बताउनु भएको छ ।
'नेकपा (एमाले) को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने के.पी. ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हाे ।' उहाँले भन्नुभएकाे छ ।
उहाँले एमाले सचिवालय बैठकको निर्णयको विरोधमा समर्थनसमेत खोज्नुभएको छ । देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले के.पी. ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनु भएको छ ।
उहाँले भन्नुभएकाे छ, 'कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरुलाई काखि च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन । सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले के.पी. ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।'
बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
के.पी. गुटकाे असहिष्णु, निषेधात्मक र निहित स्वार्थी चरित्र निरंकुश, तानाशाही र स्वेच्छाचारी व्यवहारमा छताछुल्ल भयाे । बाँकिः pic.twitter.com/v9e3SArE2x
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2024







