काठमाडौं । गत वर्षको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको एक वर्ष बढी भयो । कात्तिक १७ गते राति पौने १२ बजे ६.४ म्याग्निच्युडको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो । भूकम्पमा परी डेढ सय बढी मानिसको मृत्यु भएको थियो । भूकम्पले जाजरकोट, रुकुम पश्चिम कर्णालीका अन्य जिल्लामा क्षति पुर्याएको थियो । भूकम्पपछि प्रभावितले पहिलो हिउँद कष्टकर रहृयो । कतिपय बुढाबुढी, बालबालिका र सुत्केरीको चिसोले कठ्यांग्रिएरै ज्यान गयो । तर, भूकम्प गएको एक वर्ष बढी भइसक्दा पनि प्रभावितको पुनःस्थापना हुन सकेको छैन । भूकम्पबाट बासस्थान गुमाएका पीडितहरूको अवस्था अर्को हिउँदमा पनि अझै कष्टकर छ ।
नलगाड नगरपालिकाका वीरेन्द्र महरका अनुसार भूकम्प गएको एक वर्षपछिसम्म पनि कतिपयको अस्थायी टहरामै बास छ । गत वर्षको हिउँद त्रिपालमै बिताएका उनीहरूले यसपालिको हिउँद पनि अस्थायी टहरामै काट्नुपर्ने अवस्था छ । अस्थायी टहरा पनि गतिला छैनन् । पुराना टिन लगाएर बनाइएका टहरामा राति शीत चुहिन्छ । फल्याक जोडेर बनाइएको भित्ताले चिसो सिरेटो पनि छेक्दैन । दिन प्रतिदिन चिसो बढिरहेकाले बच्चाबच्ची र वृद्धवृद्धालाई जोगाउन मुस्किल भएको उहाँको गुनासो छ ।
चिसोका कारण झाडापखाला, ज्वरो, रुघाखोकी बढिरहेको उहाँले बताउनुभयो । नलगाडका धेरैजसो वडामा चिसोका कारण बिरामी छन् । नलगाड मात्रै होइन जाजरकोटका अरू र रुकुम पश्चिमका केही स्थानीय तहको अवस्था पनि उस्तै छ । दैनिक एक सय जनासम्म बिरामी जिल्ला अस्पतालमा उपचारका लागि आइरहेको जाजरकोट जिल्ला अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताउनुभयो । चिसोका कारण दीर्घरोगी तथा फोक्सो र मुटुका बिरामीलाई बढी समस्या देखिएको उहाँले बताउनुभयो । बालबालिकामा पनि निमोनिया, ज्वरो र रुघाखोकीको समस्या पनि बढिरहेको उहाँको भनाइ छ ।
भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम पाएनन्
संघीय सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन दुई किस्तामा २५/२५ हजारका दरले रकम दिनेगरी कार्यविधि बनाएको थियो । तर, अझै पनि झण्डै ६० प्रतिशत भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम पाउन सकेका छैनन् । अहिलेसम्म झण्डै १० हजार लाभग्राहीलाई मात्र दोस्रो किस्ताबापतको २५ हजार रकम पाएका छन् । जाजरकोटमा ४० हजार ४१ लाभग्राही कायम गरिएकोमा जिल्ला विपद् व्यवस्थापन समितिको खातामा करिब तीन करोड रुपैयाँ मात्र मौज्दात भएपछि रकम वितरण रोकिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बताउनुभयो । थप रकमका लागि गृह मन्त्रालयमा माग गरिएकाले रकम आउनेबित्तिकै दोस्रो किस्ताको सबै रकम वितरण हुने उहाँले बताउनुभयो । त्यस्तै, रुकुम पश्चिममा ३४ हजार ९९७ लाभग्राही कायम गरिएकोमा करिब १६ हजारले दोस्रो किस्ता बापतको रकम पाएका छन् ।
बाजुरामा ६ सय बढी संरचनामा क्षति
गत शनिबार बाजुरामा गएको भूकम्पले निजी र सरकारी गरी ६ सय बढी भौतिक संरचना ध्वस्त भएका छन् । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका-५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले इपिसेन्टर जगन्नाथमा सबैभन्दा बढी २८५ वटा सरकारी भवन र चारवटा निजी घरमा पूर्ण क्षति गरेको छ । यसैगरी, बुढीनन्दा नगरपालिकामा १८ वटा ११४ निजी घर, हिमाली गाउँपालिकामा १२१ वटा सरकारी भवन, स्वामीकार्तिक गाउँपालिकामा सात निजी घर र १३५ सरकारी भवनमा पूर्ण क्षति भएको केन्द्रले जनाएको छ । भूकम्पबाट ६५५ परिवार प्रभावित भएका छन् । केन्द्रका अनुसार जगन्नाथका २८५, बुढीनन्दा नगरपालिकाका ११४, हिमाली गाउँपालिकाका १२१ र स्वामीकार्तिक गाउँपालिकाका १३५ परिवार भूकम्पबाट प्रभावित भएका छन् । २९ घरपरिवार विस्थापित भएका हुन् ।
५० परिवारको त्रिपालमा बास
बाजुराको गोत्रीलाई केन्द्र्रबिन्दु बनाएर गएको ५.२ रेक्टर स्केलको भूकम्पले जगन्नाथ गाउँपालिकामा १०८ वटा घरमा पूर्ण क्षति र ४६० घरमा आंशिक क्षति पुगेको छ । जगन्नाथ आसपासका पालिकामा पनि थुप्रै घरका भित्ता चर्केको स्थानीयले बताएका छन् । भूकम्पले जगन्नाथ-५ दर्जीका ४६ घर पूर्ण क्षति र ८६ घरमा आंशिक क्षति भएको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनुभयो ।
उहाँकाअनुसार ती घरमा बस्न सक्ने अवस्था छैन । विस्थापित परिवारलाई रेडक्रसले उपलब्ध गराएका र गाउँघरकै त्रिपाल जुटाएर काम चलाएको वडाध्यक्ष शाहीले बताउनुभयो । जगन्नाथ-२ मा २४ घरमा पूर्ण क्षति र ९३ मा आंशिक क्षति, वडा ६ मा १८ घरमा पूर्ण क्षति भएको छ भने १०४ घरमा आंशिक क्षति भएको पालिकाले जनाएको छ । यस्तै, वडा-४ मा १० घर पूर्ण रूपमा क्षति र एक सय २२ घरमा आंशिक क्षति भएको छ । वडा-३ मा १० घर पूर्ण र ४४ घर आंशिक क्षति भएको गाउँपालिका विपद् व्यवस्थापन शाखाले जनाएको छ । यस्तै २४ वटा विद्यालय, ११ स्वास्थ्य चौकी र ६ वटै वडा कार्यालय भवनमा पनि क्षति पुगेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न ठाउँलाई केन्द्र्रबिन्दु बनाएर निरन्तर दोहोरिइरहेको भूकम्पले यस क्षेत्रका बासिन्दालाई त्रसित बनाएको छ ।
सुदूरपश्चिममा किन गइरहन्छ भूकम्प ?
२०७९ असोजयता सुदूरपश्चिममा साना–ठूला गरी ३७ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्यांक छ । केन्द्रका अनुसार पछिल्लो एक वर्षको अवधिमा बाजुरामा मात्रै १६ पटक भूकम्प गएको छ । ०७९ माघ १० गते र २०८० वैशाख १५ गते बाजुराको बिच्छ्या केन्द्रबिन्दु भएर सबैभन्दा ठूलो ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो । बझाङ केन्द्रबिन्दुु बनाएर २०८० असोजयता १४ पटक भूकम्प गएको केन्द्रको अभिलेखमा उल्लेख छ । बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प गएको झण्डै २१ मिनेटपछि ६.३ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । मानवीय क्षति नभए पनि भूकम्पका कारण बझाङका सयौँ घरमा क्षति पुगेको हो । अध्ययनअनुसार पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । खानी तथा भूगर्भ विभागले गत वर्ष तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम)मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औँल्याइएको छ । गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा बढी ऊर्जा सञ्चित भएर बसेको अनुमान छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा