
काठमाडौं । सत्तापक्ष र विपक्षीबीचको टकरावको छाया संसदीय समितिहरूमा देखिन थालेको छ । मिनी संसद्को रूपमा लिइने संसदीय समितिहरूलाई विधेयक केन्द्रितभन्दा सत्ता र विपक्षी दलको इगोले प्राथमिकता पाउन थालेको छ । जनप्रतिनिधिहरूले कानुन निर्माणमा ध्यान नदिएको, व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्त भएको भन्दै चौतर्फी आलोचना भइरहँदा संसदीय समितिहरूका बैठकहरू भने सत्ता र विपक्षी सांसदहरूको वादप्रतिवादमा सीमिति हुन पुगेका छन् । सत्तापक्षका सांसदहरूले विपक्षी र विपक्षी सांसदहरूले सत्तापक्षको आलोचना गर्ने थलोका रूपमा संसदीय समितिका बैठकलाई बनाउन थालेका छन् । यसको पछिल्लो उदाहरण हो प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठक ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने विषयमा सत्तापक्ष र विपक्षी सांसदहरूबीच विवाद भएपछि भदौ ९ गते स्थगित भएको लेखा समितिको बैठक चार महिनापछि सोमबार बसेको थियो । लामो समयपछि बसेको बैठकमा महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका बेरुजु छलफलको विषय थियो । तर, बैठक समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग्ने र बचाउने बहसमा सीमित भयो ।
मार्गप्रशस्त गर्न माओवादीको माग
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा गर्न माग गरेको छ । लेखा समितिको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको दलका सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा दिन माग गर्नुभएको हो । सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने जिकिर गर्दै सांसद मोदीले भन्नुभयो, ‘सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम–कारबाहीलाई चेक एण्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ । सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ ।
सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्गप्रशस्त गरिदिए राम्रो ।’ सांसद अमनलाल मोदीले लेखा समितिलाई सक्रिय र प्रभावकारी बनाउनका लागिसमेत सत्ता पक्षको नेतृत्व लेखा समितिमा हुन नहुने धारणा राख्नुभयो । यसअघि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले पनि लेखा समितिका सभापति पोखरेलको राजीनामा मागेको थियो । ४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानविन प्रभावित भएको आरोप लगाउनुभएको थियो । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा लेखा समितिका सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरिएको छ ।
शीर्ष तहको सहमतिबिना समिति सभापति बदलिँदैन : एमाले
सत्तारूढ नेकपा एमालेका सांसदहरूले राजनीतिक सहमतिबिना सार्वजनिक लेखा समितिको सभापति नबदलिने जिकिर गरेका छन् । नेकपा एमालेका सचिवसमेत रहनुभएका सांसद योगेश भट्टराईले भन्नुभयो, ‘हिजो एउटा सहमतिको आधारमा नेतृत्व चयन भएको हो । यसकारण केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सहमतिबिना लेखा समिति सभापति बदलिँदैन ।’ एमालेकै सांसद गोकुल बास्कोटाले राजनीतिक सहमतिबेगर नेतृत्व परिवर्तन नहुने स्पष्ट पार्दै भन्नुभयो, ‘फेर्ने भए फेरौँ । राष्ट्रियसभा अध्यक्ष पनि फेरौँ ।’ लेखा समिति सभापति पोखरेलको परिवार सहकारीको रकम अपचलनमा जोडियो भन्दैमा पोखरेलमाथि नै हमला नगर्न सुझाव दिँदै सांसद बास्कोटाले भन्नुभयो, ‘उहाँको परिवारको नाम आयो भने अपराधी नै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौँ भन्ने मेरो सुझाव हो । आरोप लाग्दैमा राजीनामा किन ? तनावको कुरा भएन तथ्य र सत्यले पुष्टि गर्छ भने राजीनामा गर्नुपर्छ । प्रतिशोध र पूर्वाग्रह कानुनी राजको गुण हैन, कानुन अन्तिम सत्य हो ।’
म जुनसुकै परीक्षामा बस्न तयार छु : सभापति पोखरेल
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफू जुनसुकै परीक्षामा बस्न तयार रहेको बताउनुभएको छ । सोमबार बसेको समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभापति पोखरेलले आफू कानुनमा विश्वास गर्ने उल्लेख गर्दै जुनसुकै परीक्षा दिन तयार रहेको बताउनुभएको हो । समितिको बैठकमा माओवादीका सांसदहरूले सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेकाले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो । एमाले सांसद योगेश भट्टराईले पनि सभापतिमाथि विषय उठिसकेपछि त्यसको जवाफ दिनुपर्ने बताउनुभएको थियो । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सभापति पोखरेलले भन्नुभयो, ‘मेरो विषयमा कुरा उठ्यो । कानुनी प्रक्रियामा छ । म जुनसुकै परीक्षामा बस्न तयार छु । म कानुनमा विश्वास गर्छु ।’
लेखा समिति सभापतिकी श्रीमती अदालत उपस्थित हुनुपर्छ : भट्टराई
नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुनुपर्ने बताउनुभएको छ । भट्टराईले आरोपित कोइरालाले न्यायिक निरूपणलाई सघाउनुपर्ने धारणा राख्दै भन्नुभयो, ‘सभापतिबारे कुरा उठेको छ । उहाँको श्रीमती एउटा सहकारीमा जोडिएको कुरा छ । उहाँ अदालतमा जानुपर्छ र जानुहुन्छ भन्ने विश्वास छ । न्यायिक निरूपणमा जानुपर्छ । कतिपयले बाहिर कराउँदै हिँड्ने गरेको भए पनि एमालेका नेता कार्यकर्ताले त्यस्तो गर्दैनन् ।’
श्रीमतीले गल्ती गर्दा श्रीमान् फस्ने हुन् कि ? भन्ने चिन्ता भयो : केसी
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिँदैन ? भन्ने प्रश्न गर्नुभएको छ । लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती सहकारीको रकम अनियमिततामा जोडिएको उल्लेख गर्दै सांसद केसीले भन्नुभयो, ‘अत्यन्तै ठूलो चिन्ता छ । श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान् फस्ने हुन् कि हैन ?, कानुनले के भन्छ ? मलाई चिन्ता छ । श्रीमतीले अपराध गर्दा श्रीमान् जोडिन्छ कि जोडिँदैन ? सभापतिको श्रीमतीको पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो हैन ।’
एनपिएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न माग
नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले नेपाल प्रिमियर लिग (एनपिएल)मा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न माग गर्नुभएको छ । सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद यादवले एनपिएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको हो । सांसद यादवले भन्नुभयो, ‘एनपिएल खेलको बीचमा उच्छृङ्खल व्यवहार भयो । कुटपिट भयो । यो संविधानको हितमा भएन । नराम्रो घटना भयो ।’ सांसद यादवले दोषीमाथि कारबाही गर्नका लागि सरकारलाई समितिले ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच