काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको मुख्य शाखा कार्यालय उद्घाटन भएको छ । अर्थ मन्त्रालयका सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले सोमबार काठमाडौंमा मुख्य शाखा कार्यालय उद्घाटन गर्नुभएको हो ।
हाल केन्द्रीय कार्यालयबाट प्रदान गरिँदै आएका सेवालाई छुट्टै शाखामार्फत् छिटो, छरितो र प्रभावकारीरूपमा प्रदान गर्ने उद्देश्यका साथ केन्द्रीय कार्यालय टंगालमा रहेको भवनको भुइँतलामा मुख्य शाखा कार्यालय स्थापना गरिएको हो । सो अवसरमा कोषका अध्यक्ष घिमिरेले कोषले आफ्नो कारोबार ग्राहकमैत्री र पूर्ण व्यावसायिक बनाउनमा नयाँ शाखाले महत्वपूर्ण सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले शाखा कार्यालय स्थापना गर्नुको आवश्यकता, उद्देश्य र औचित्यताबारे प्रकाश पार्दै शाखा कार्यालय स्थापनाले एकातर्फ सेवा प्रवाह चुस्त हुनुका साथै केन्द्रीय कार्यालय नीतिगत र सुपरीवेक्षकीय कार्यमा बढी केन्द्रित हुन गई सुरक्षण योजना विस्तार र प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।






