काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्न असफल भइ सिफारिस समिति नै भंग भएको भन्दै विभिन्न द्धन्द्ध पिडित संगठनहरुले आपत्ति जनाएका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समिति आयोगका पदाधिकारी सिफारिस गर्न असफल भएपछि मानवअधिकारवादी र द्वन्द्वपीडितका संस्थाले सरकारलाई खबरदारी गरेका हुन् ।
द्धन्द्ध पिडित विभिन्न २८ संगठनका प्रतिनिधिद्वारा संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै द्धन्द्ध पिडित संगठनहरुले राजनैतिक दलहरुका स्वार्थ र हस्तक्षेपका कारण न्याय नपाउने अवस्था सिर्जना भएको आरोप समेत लगाएका छन् ।
‘राजनैतिक दलहरुका स्वार्थ र हस्तक्षेपका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्ति गर्न असफल भइ २०८१ पौष १ गते अनायास सिफारिस समिति नै भंग भएकोप्रति आम द्वन्द पीडित समुदाय आश्चर्य र गम्भीर दुख प्रकट गर्दछ’ विज्ञप्तीमा उल्लेख छ ।
सिफारिस समिति भंग हुँदा लामो समयदेखि बन्द रहेको उजुरी छानबिन लगायतका काम तत्काल आरम्भ हुने विश्वासमा बसेको द्धन्द्ध पिडितहरुको न्यायको विश्वास र अपेक्षामाथि तुषारापात भएको संगठनहरुको निष्कर्ष छ ।
सिफारिस समित भंग हुँदा शान्ति सम्झौताको महत्वपूर्ण राष्ट्रिय कार्यभारलाई विश्वसनीय ढंगले समाधान दिन सरकार तयार नदेखिएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । यो कार्यले पीडितका सवाल, चासो र सहभागितालाई उपेक्षा गर्ने प्रवृत्तिको पुनरावृत्ति भएको समेत उहाँहरुको भनाइ छ ।
‘भन्नलाई पीडित केन्द्रित भन्ने तर कानुन बनाउने, आयोग बनाउने बेलामा पीडितका सवाल, चासो र सहभागितालाई उपेक्षा गर्ने प्रवृत्तिको पुनरावृत्ति भएको छ । पदाधिकारी सिफारिस गर्न नसकेर समिति भंग भएवाट सरकार र राजनैतिक दलहरुको संक्रमणकालीन न्याय टुंग्याउने प्रतिवद्दता, इच्छाशक्ति एवं जवाफदेहितामाथि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठेको छ’ विज्ञप्तीमा लेखिएको छ ।
संक्रमणकालीन न्यायका लागि अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय फौजदारी कानुनको पालना आवश्यक भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाहरूले प्रधानमन्त्री ओलीलाई यी कानुनको वैधानिकताको रक्षा गर्न आग्रह पनि गरेका छन् ।







