काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई भाइरल फोटोबारे सोधपुछ गर्नुभएको थियो । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताउनु भएको बुझिएको छ ।
उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लेखकले निर्देशन दिनुभएको हो।
बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बिर भन्दै सो तस्बिर सार्वजनिक गरेका थिए ।
उक्त तस्बिर आफूले खिचेको रास्वपा समर्थक डा निकोलस भुसालले स्वीकार गरिसक्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ (रवि) को प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो ।
कानुनका जानकारहरुका अनुसार यसरी कसैको अनुमति विना फोटो/भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन ।
कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यस्तो व्यवस्था छ । त्यहाँमाथि न्यायिक हिरासतमा राखेको व्यक्तिको फोटो बाहिरिएपछि सर्वत्र चासो बढेको छ ।






