
काठमाडौं । संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व-गृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अन्तिमपटक चार दिनको म्याद थप गरेको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
प्रहरीले लामिछाने माथिको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन अध्ययन गरी अभियोजन तयार गर्ने काम भइरहेकाले प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । हिरासतमा रहँदा नै उहाँलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन हुँदै पर्सासम्म लगिएको थियो ।
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी, रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा चितवन बहुउद्देशीय र पर्साको सानोपाइला सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले सहकारी ठगीसहितका तीन मुद्दामा हिरासतमै राखेर गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । थपिएको म्याद सकिने मितिले आउँदो शुक्रबारभित्र लामिछाने सहितका व्यक्तिहरूलाई मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन सोमबार पाएको सरकारी वकिलको कार्यालयले शुक्रबार अदालतमा रविविरुद्ध अभियोजन गर्दै छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने भए तापनि लामिछाने जोडिएकै कसुरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी पक्राउ परेको असोज ६ गतेबाटै उक्त अवधि गणना हुन्छ । मुद्दा अभियोजन गर्नुपूर्व जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गर्नुपर्ने हुँदा थप समय माग गरेको थियो ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रहरीबाट अनुसन्धान प्रतिवेदन सोमबार प्राप्त भएको, प्रतिवेदन अध्ययन, प्राप्त प्रमाणको विश्लेषण, अभियोग पत्र लेखन लगायतको काम बाँकी भएका कारण थप समय चाहिएको जिकिर गर्नुभएको थियो । तर, रवि लामिछानेको पक्षबाट बहस गर्नुभएका अधिवक्ता नारायण घिमिरेले म्याद थप गरिरहनु नपर्ने बताउनुभएको थियो ।
सहकारी पीडितका तर्फबाट बहस गर्नुभएका अधिवक्ता युवराज पराजुलीले दोषी कसैले पनि उन्मुक्ति पाउन नहुने र जाहेरवालाको निक्षेप फिर्ता पाउने गरी अभियोग आउनुपर्ने बताउनुभएको थियो । बहस सकिएपछि जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले चार दिनको म्याद थप गर्नुभएको थियो । रविको आठौँपटक म्याद थप गरिएको हो । यसअघि, अदालतले मंसिर २७ गते उहाँलाई हिरासतमा राख्न पाँच दिनको अनुमति दिएको थियो । सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालयलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्व-गृहमन्त्री रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीलाई जनही पाँच करोड ५८ लाख रुपैयाँ बिगो कायम हुनुपर्ने रायसहित प्रहरीले प्रतिवेदन बुझाएको छ ।
पहिलो चरणमा सूर्यदर्शन सहकारी प्रकरणमा प्रहरीले एक अर्ब ३५ करोड रुपैयाँ ठगी भएको प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले जिल्ला अदातलमा दर्ता गरेको मुद्दामा एक अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग गरिएको थियो । अहिले रविसहित ५१ जनालाई विपक्षी बनाइएको मुद्दामा एक अर्ब ५१ करोड बिगो माग दाबी गरिएको हो । कुल प्रतिवादी ६५ जना भए तापनि १४ जनाको ठेगाना नखुलेका कारण अहिले ५१ जनालाई मात्र प्रतिवादी बनाइएको प्रहरीको भनाइ छ ।
प्रहरीले सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा हिरासतमा रवि र छविलाई जनही पाँच करोड ५८ लाख बिगो कायम हुनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो । कास्की प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा आएको रकम बराबरको बिगो रवि र छविको भागमा परेको हो । कास्की प्रहरीले रवि र छविको हकमा दाबी गरेको पाँच करोड ५८ लाख अनुसार उनीहरूलाई सहकारी ठगी प्रकरणमा कम्तीमा पनि चारदेखि ६ वर्ष कैद सजाय, त्यस्तै संगठित अपराधमा थप तीन वर्ष कैद सजायको माग गरिएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण मुद्दामा थप दुईदेखि १० वर्ष सजाय र बिगो बराबरको जरिवाना हुनुपर्ने कानुनी व्यवस्था छ । कास्की प्रहरीले पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको ८५ दिनमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो । उहाँ असोज ६ गते काठमाडौंबाट पक्राउ पर्नुभएको थियो भने रवि कात्तिक २ गते पक्राउ पर्नुभएको थियो । जिल्ला सरकारी वकिल कार्यालय पुस ६ गतेभित्र मुद्दा अदालत दर्ता गरिसक्नै पर्ने कानुनी व्यवस्था छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच