काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीले नेपाल बिमा प्राधिकरणले तोकेका ११ क्षेत्रमा ७६ अर्ब ३४ करोड रुपैयाँ बढी लगानी गरेका छन् । असोज मसान्तसम्मको तथ्यांकअनुसार त्यस्ता क्षेत्रमा कम्पनीहरूले ७६ अर्ब ३४ करोड चार लाख रुपैयाँ लगानी गरेका हुन् ।
बिमा प्राधिकरणले लगानीका लागि विभिन्न ११ क्षेत्र तोकेको भए पनि घरजग्गा क्षेत्रमा भने लगानी भएको छैन । प्राधिकरणले घरजग्गा क्षेत्रमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर, घरजग्गा क्षेत्रमा कुनै पनि कम्पनीले लगानी नगरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीहरूलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रको न्यूनतम २० प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ । सो क्षेत्रमा निर्जीवन बिमा कम्पनीले २१ करोड ५३ लाख रुपैयाँ लगानी गरेका छन् ।
निर्जीवन बिमा कम्पनीले वाणिज्य बैंकको मुद्दती निक्षेप र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ४६ अर्ब ४१ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम कुल लगानी रकमको ६०.८० प्रतिशत हो । पूर्वाधार बैंकमा कुनै पनि कम्पनीले लगानी गरेका छैनन् ।






