
काठमाडौं । आज उधौली पर्व, धान्य पूर्णिमा, योमरी पुन्ही र ज्यापु दिवस जस्ता पर्व र दिवस परेका छन् । मंसिर शुक्ल पूर्णिमाको दिन किरात समुदायले उधौली पर्व मनाउने गर्छन् । यो पर्व किरात समुदायका राई, लिम्बू, सुनार र याक्खा जातिले संयुक्त रूपमा मनाउने गर्छन् । किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ ।
किरात समुदायले वैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्पराअनुसार उधौली मनाउने गरिन्छ । उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खोतीपाती राम्रो भएकोमा प्रकृति, भूमि, किरा फट्यांग्रा, चराचुरुंगीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रूपमा मनाउने गरिन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलानाच लगायतका नाच नाचेर मनोरञ्जन गरिने परम्परा छ । यो पर्वलाई लिम्बूहरूले चासोक तङ्नाम, राईहरूले साकेला, याक्खाहरूले चासुवा र सुनुवारहरूले फोलष्याँदर भन्छन् ।
यस्तै, आज योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व मनाइँदै छ । नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदै छन् । योमरीको त्रिकोणात्मक आकारले षट्कोणको अर्धभागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिविम्बको रूपमा लिइन्छ । पानीको देवताका रूपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा चली आएको छ । लक्ष्मी, गणेश, कुमार, कुवेर लगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।
आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापु संस्कृतिको रक्षार्थ विसं २०६१ सालबाट यस दिवस मनाउन थालिएको हो । नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बिउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समुदायको समेत मूल संस्कृतिको रूपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिएको छ । विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।
यस्तै, आज पूर्णिमा अर्थात् धान्य पूर्णिमा नामैले पनि यो पर्वमा धानको विशेष महत्व भएको बुझिन्छ । धानलाई लक्ष्मीको रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवी देवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ । विशेष गरी पहाडी भेगमा आज गोठपूजा गर्ने चलन छ । कतिपय समुदायमा यो दिन कुलदेवताको पूजा गर्ने परम्परा छ । स्थानीय भाषामा कुलदेवताको पूजालाई देवाली पनि भनिन्छ । कुलदेवतालाई नयाँ अन्न चढाएर, होम गरेर, नयाँ धानबाट बनेको चामलको खीर भोग लगाउने गरिन्छ । नयाँ चामलबाट बनेको खीर, चामलको पीठोको बाबर र चामलको पीठोबाटै बनेको पुवा पकाएर कुलदेवतालाई चढाउने परम्परा पनि कतिपय समुदायमा छ । यस्तै, आज कतिपय समुदायमा देवाली पूजामा बोका कुखुरा, हाँसको बलि दिने प्रचलन पनि रही आएको छ । सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच