काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले स्थानीय सरकारका रूपमा अभिभावकीय भूमिका निर्वाह गरेको बताउनुभएको छ । उहाँले आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासमा काठमाडौंले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घर आँगनमै सरकार रहेको आभास गराएको पनि उहाँले बताउनुभयो । ३०औँ महानगर दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उपराष्ट्रपति यादवले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घर आँगनमा सहज सेवा पाएको बताउनुभएको हो । काठमाडौं महानगरले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपतिले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौं महानगर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु हो भन्नुभयो ।
उहाँले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उहाँले संघीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति यादवले शहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवद्र्धन, मठमन्दिर जस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत शहरी विकास गरेकामा महानगरको सराहना गर्नुभयो ।
महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नोे ध्यान केन्द्रित रहेको बताउनुभयो । उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको जनाउनुभयो । विसं १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मंसिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो ।
१० जना स्रष्टा डेढ लाख रुपैयाँसहित सम्मानित
काठमाडौं महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजारसहित सम्मान गरेको छ । कामपाद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल लगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो । लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।
खेलतर्फ तेक्वान्दोका संगिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ललाई सम्मान गरिएको महानगरपालिकाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजारसहित पुरस्कार प्रदान गरिएको हो । समारोहमा कामपाका ३२ वटै वडाले आ-आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले शहरी सेवा तथा सुविधा वितरण र शहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने बु्रमर, फोहोर संकलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।
शनिबार बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमुना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ । शनिबार सांगितिक कार्यक्रम आयोजना पनि भएको थियो । उक्त कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता