काठमाडौं । सभामुख देवराज घिमिरे, इपानका पूर्वअध्यक्ष एवं हाइड्रो उद्यमी शैलेन्द्र गुरागाई तथा सर्वसाधारणले नेपाल कला परिषद्मा जारी फोटो प्रदर्शनी अवलोकन गरेका छन् । एसियाली विकास बैंक (एडिबी) ले फोटो जर्नलिस्ट क्लब नेपालसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीको दोस्रो दिन सभामुख घिमिरे अवलोकनमा आइपुग्नुभएको आयोजकले जनाएको छ ।
सो अवसरमा सभामुख घिमिरेले प्रदर्शनीले आफूलाई समय कसरी राम्रोका लागि परिवर्तन भएको छ भनेर प्रतिबिम्बित गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत् विकास हुनुअघि यस क्षेत्रको अवस्था, प्रदर्शनीमा देखाइएअनुसार परिस्थिति कति चुनौतीपूर्ण थियो भनेर प्रकाश पार्छ । यो प्रभावशाली र व्यावहारिक प्रदर्शनीले प्रगति देखाउँछ र भविष्यका परियोजना कसरी सञ्चालन गर्नुपर्छ भनेर दर्शन प्रदान गर्छ ।’
उहाँले सिर्जनात्मक कार्यक्रममार्फत् विद्युत्कोे विकास प्रदर्शन गर्न एडिबीको पाँच दशकको साझेदारी समयसापेक्ष र नवीन रहेको उल्लेख गर्दै देशको ऊर्जा क्षेत्रको विकासमा एडिबीले गरेको सहयोगका लागि धन्यवादसमेत दिनुभयो । इपानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले पनि प्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा जलविद्युत्को उत्पादन, वितरण र उपयोगको संयोेजनलाई स्पष्ट पारेको बताउनुभयो ।
प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार र एडिबीबीचको ५० वर्षको साझेदारीलाई उजागर गर्ने उहाँको भनाइ थियो । प्रदर्शनी सोमबारसम्म सञ्चालन हुने छ ।






