काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि (मैतीदेवी, काठमाडौं) र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
आर्थिक वर्ष २०७८र७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ।
नेपाल सरकारको सस्शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ।
आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो।






