शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित कनवा ताललाई पर्यटकीय हब बनाउन ३६ करोडको डिपिआर तयार भएको छ । कनवा ताललाई बैजनाथको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित स्थानीय सरकारले ३६ करोड लागत लाग्ने अनुमानसहित डिपिआर निर्माण गरेको हो । ताल देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन क्षेत्रमा अवस्थित छ । यो सिमसार क्षेत्रसमेत हो । उक्त ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेको छ ।
कनवा ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । ताललाई पर्यटकीय हब बनाउने बैजनाथको लक्ष्य रहेको छ । डिपिआरमा सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई १० हेक्टरमा विस्तार गरिने उल्लेख छ । यस्तै, होमस्टे, रिसोर्ट निर्माणदेखि दुईतर्फ ट्र्याक खोल्ने भनिएको छ ।
बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार कनवा ताललाई पर्यटकीय स्थल निर्माण भोगेका समस्याको समाधानका लागि वन मन्त्रालयलाई आग्रह गरिएको छ । वनमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाइएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । ‘कनवालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न डिपिआर निर्माण गरिएको छ । पालिकाले लगानीसमेत गरिरहेको छ । आवश्यक संरचना निर्माण गर्न रकम धेरै चाहिन्छ । वन मन्त्रालयसहित अन्य निकायमा पनि बजेट माग गरेका छौँ ।,’ अध्यक्ष शाहीले भन्नुभयो ।
केही दिनअघि गाउँपालिका र राजनीतिक दलको संयुक्त टोली काठमाडौं डेलीगेसनमा गएको थियो । सोही अवसरमा मन्त्रीलाई भेटेर समस्या सुनाएको र समस्या समाधानको आश्वासन पाइएको भ्रमण दलका सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष निखिल बैगारले बताउनुभएको छ । उहाँका अनुसार ताल विकासको लागि पालिका र वडाले बजेट विनियोजन गरिरहेका छन् । तर, निकुञ्जले अनुमति नदिएका कारण विनियोजित बजेट खर्च हुन नसकेको वडाअध्यक्ष बैगारले बताउनुभयो । चालु आर्थिक वर्षमा समेत प्रदेश भू–जलाधार कार्यालय देउखुरीबाट २२ लाख रुपैयाँ तालको विकासको लागि विनियोजित गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मन्दीप पंगेनीले निकुञ्जको नियमावली र मध्यवर्तीको नियमावलीको अधीनमा रहेर आवश्यक प्रक्रिया पूरा गरेर स्वीकृति लिन सकिने बताउनुभएको छ । उहाँका अनुसार सो निर्णय प्रक्रियाका लागि सम्बन्धित पक्ष, मध्यवर्ती तथा सामुदायिक वनको निर्णय तथा स्थानीय सरकारको सिफारिशसहित वैधानिक रूपमा प्रक्रिया अघि बढाउन सकिन्छ ।
बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ बजेटबाट १० लाख रुपैयाँ तालको संरक्षणका लागि विनियोजन गरेको थियो । उक्त रकम बाटो निर्माण ग्राभेलिङ र ताल वरिपरिको क्षेत्रमा माटो पटान, ड्याम निर्माण तथा ताललाई चौडा बनाउने काम गरिएको छ । सिमसार क्षेत्रका रूपमा रहेको ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ताल वरिपरि पक्की पर्खाल, पार्क निमाण, पिकनिक स्पोट निर्माण गरी तालको छेउछेउमा फलामे बेञ्चहरू निर्माण गरी सजिलै ताल अवलोकन गर्ने र स्रोतको व्यवस्थापन गरिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts