
रूपन्देही । लगानी लुम्बिनीमा, समृद्धि देशमा भन्ने नाराका साथ बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गइरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियनतर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिइने भएको छ । कृषिको व्यावसायिकीकरणका लागि कृषिजन्य वस्तुको उत्पादन, कृषि उद्यमका लागि कृषि औजार तथा प्रविधिलाई प्राथमिकता दिएको बुटवल उद्योग वाणिज्य संघले मेलामा कृषिमा अर्गानिक उत्पादनको विकास, विस्तार र उपभोगको प्रवद्र्धनका लागि अर्गानिक उत्पादनलाई विशेष प्राथमिकता दिइएको मेला कार्यसम्पादन समिति कृषि उपसमितिका संयोजक मोहमद याकुवले जानकारी गराउनुभयो ।
पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालन हुने मेलामा कृषिजन्य वस्तुका स्टललाई प्राथमिकतासाथ विशेष छुट प्रदान गरिएको छ । युवा सहभागिता र लगानी अभिवृद्धि गर्न कृषिमा भएका असल अभ्यास, कृषिमा आधारित कपडा (अल्लो), कृषि औजार, कृषि प्रविधि, हलो उन्नतीकरणलगायत स्थानीय उत्पादन समावेश गरिने आयोजकले जनाएको छ ।
त्यसैगरी स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा सामूहिक कृषि सूचना केन्द्र रहनेछ भने कृषिमा डिजिटल विकासबारेमा समेत जानकारी गराउने गरी कार्यक्रम तय गरिएको छ । मेलामै कृषिसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रमसमेत रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा तालिम गोष्ठी उपसमितिका संयोजक बालकृष्ण पौडेलले बताउनुभयो ।
आयोजकका अनुसार १६ दिन चल्ने मेलामा कृषिसँग सम्बन्धित डेरी उत्पादनलाई पनि प्राथमिकता दिइनेछ । डेरीजन्य उत्पादनका विविधिकरण खिर, कुरौनीलगायतका परिकार राखिने बुटवल उद्योग वाणिज्य संघ डेरी वस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायले जानकारी गराउनुभयो । मेलामा कृषिका साथै हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी-फुड एण्ड वेभरेज), अटोमोबाइल्स र होटलसमेत गरी करिब पाँच सय स्टल रहने कार्यसम्पादन समिति उपसंयोजक तथा स्टल बुकिङ समितिका समन्वयकर्ता सुरज भट्टराईले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच