बारा । कृषिलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्य लिएर स्थापित कनेक्ट किसान नामक संस्थाले पञ्चवर्षीय गढीमाई मेलामा कृषि एक्स्पो आयोजना गर्ने भएको छ ।
संस्थाले बुधबार कलैयामा पत्रकार सम्मेलनको आयोजना गर्दै मंसिर १८ गतेदेखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना गर्ने जानकारी गराएको हो ।
लाखौंको संख्यामा दर्शनार्थीको उपस्थिती रहने गढीमाई मेलाको सदुपयोग गर्न र कृषिमा निर्भर किसानलाई आधुनिक कृषितर्फ उन्मुख गराउनका लागि एक्स्पो आयोजना गर्न लागिएको एक्स्पोकी संयोजक सञ्चिता लामिछानेले जानकारी दिनुभयो । एक्स्पोमा कृषिसंग सम्बन्धित प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।
तराईको उर्वर भूमिमा खेती किसानी गर्दै आएका किसानलाई कृषि क्षेत्रको विषयमा समग्र जानकारी गराउने उद्देश्य एक्स्पोले लिएको उहाँले बताउनुभयो । दुई लाख भन्दा किसानले एक्स्पोको अवलोकन गर्ने र १५ करोडको कारोबार हुने अपेक्षा आफूहरुले लिएको लामिछानेले बताउनुभयो ।
करिब दुई बिघा क्षेत्रमा आयोजना हुने एक्स्पोमा एक सय ५० भन्दा बढी कृषि स्टलहरु रहनेछन्, उहाँले भन्नुभयो,‘ मेला समितिले एक्स्पोका लागि उक्त जग्गा निःशुल्क उपलब्ध गराएको छ । एक्स्पोमा आउने अवलोकनकर्ताले कृषि क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिसहित पशुपंक्षीपालन, माछापालन, गाईभैंसीपालन, खेतीबाली, कृषि औजार तथा उपकरण, सिँचाइ, माटोलगायतका विषयमा विज्ञसंग परामर्श लिन सक्नेछन् । एक्स्पोलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, कृषि औजार अनुसन्धान केन्द्र, कृषि अनुसन्धान निर्देशनालय, राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र, कृषि ज्ञान केन्द्र, कृषि उद्यम केन्द्रलगायतका कृषिसंग सम्बन्धित संघसंस्थाले सहयोग गरेको लामिछानेले जानकारी गराउनुभयो ।’
मेलामा लगाइएको उक्त एक्स्पोले नेपाललाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्नेमा आशावादी रहेको बताउँदै लामिछानेले उत्पादनलाई बजारीकरण गर्नलाई समेत सहयोग पुग्ने बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता