सर्लाही । सर्लाहीको लालबन्दीमा उखु खेती प्रवर्द्धन र किसानको आय वृद्धि गर्ने उद्देश्यले सिपमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल फार्मस् एड्भाइजरी काउन्सिल प्रालि सिनामंगलको आयोजना तथा द नेपाल डिस्टिलरिज प्रालि बालाजुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता नेपाल कृषि अर्थशास्त्र समाजका सभापति तथा पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीले गर्नुभएको थियो भने प्रमुख अतिथि लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी हुनुहुन्थ्यो।
लालबन्दी नगरपालिका–६ स्थित होटल युनाइटेडमा आयोजित कार्यक्रममा सर्लाही, धनुषा, महोत्तरी, रौतहट, बारा, र पर्साका ४० जना उखु किसान सहभागी भएका थिए। कार्यक्रमको दौरान उखु खेतीका महत्व, रोग तथा कीरा व्यवस्थापन, उन्नत जात तथा उत्पादन प्रविधिबारे विज्ञहरुले प्रशिक्षण दिएका थिए।
कार्यक्रममा उत्कृष्ट उखु किसानहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो। नेपाल कृषि अर्थशास्त्र समाजका सभापति डा। कार्कीले किसानलाई आधुनिक प्रविधि र नयाँ प्रजातिका बीउबिजनबारे जानकारी दिँदै उखु खेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
यसैगरी, नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले रम उत्पादनका लागि आवश्यक उखु हाल भारतबाट आयात गर्नुपर्ने अवस्थालाई रोक्न र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अधिकारीले किसानलाई सहयोग र प्रोत्साहन गर्न नगरपालिका सँधै प्रतिबद्ध रहने उल्लेख गर्नुभयो।






