गण्डकी । पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल-स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो ।
निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले गत वर्षको असाजेदेखि पुल निर्माण सुरु गरेको थियो । दुई वर्षअघि ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले पुल निर्माण ढिला सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि अझ एक वर्ष बाँकी छ ।
“तीनतिर टावरको काम सुरु भइसकेको छ, चालु आवभित्रमा तल्लो भाग निर्माण सक्ने लक्ष्य लिइएको छ”, इन्जिनियर नेपालले भन्नुभयो, “जग निर्माणमा समय बढी लाग्यो, अब टावरलगायत माथिल्लो संरचनाको काम तीव्र गतिमा हुन्छ ।” उहाँका अनुसार हालको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा ‘सिग्नेचर’ पुल बन्नेछन् ।
एसियाली विकास बैंकको अनुदान सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्का लागेको हो । उक्त पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण थप बढ्ने आशा गरिएको छ । पुलको डिजाइन आकर्षक रहेको इन्जिनियर नेपालले बताउनुभयो ।
निर्माणमा कुनै बाधा नआए आगामी एक वर्षभित्र पुल निर्माण सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ । एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने जनाइएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts