खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुल्ला महिला फुटबल प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–७महादेवस्थान च्याम्पियन बनेको छ ।
सोही नगरपालिकाको वडा नं.७ महादेवस्थानको बसाहाथान खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा प्रतिद्धन्द्धी टिम पदमा स्पोर्टस क्लब ओखलढुंगालाई ट्राइबेकरमा हराउँदै हलेसी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा दुबै टिमबाट गोल नभएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा हलेसीले ३ गोल गर्दा ओखलढुंगाले २ गोल गरेका थिए ।
च्याम्पियन बनेको हलेसीले एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेता बनेकोे ओखलढुंगाले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमीफाइनलिष्ट भोजपुर नगरपालिका भोजपुर र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ खोटाङले प्रतिटिम २२ हजार २२२ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजुले जानकारी दिए ।
बेष्ट प्लेयर बनेका हलेसीका खेलाडी प्रतिक्षा ठकुरीले १ हजार ५५५ रुपैयाँ प्राप्त गरेकी छन् । बेष्ट डिफेण्डर हलेसीका कर्सा ओली, बेष्ट मिडफिल्डर ओखलढुंगाकी खुस्मा राई,हाइ स्कोरर ओखलढुंगाकी सुक्रिया मिया, बेष्ट किपर हलेसीका सुजता तामाङ र बेष्ट कोच हलेसीका लोकेन्द्र केसी बने । उनीहरुले जनही १ हजार १११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
विजयी टिम र उत्कृष्ट खेलाडीहरुलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई पीके, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश कुमार राउतले पुरस्कार वितरण गरेका थिए ।
खेलको माध्यमबाट महिलाहरुको शक्ति प्रदर्शन गर्नका लागि खुल्ला महिला फुटबल प्रतियोगिता गराईएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताईन्।
लैङिगक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरसँगै “मेरो गोल, लैङिगक हिंसा विरुद्धको बोल” नाराका साथमा मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगिताको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राईले उद्घाटन गरेका थिए। प्रतियोगितामा खोटाङ, भोजपुर र ओखलढुंगाका १६ टिमले सहभागीता जनाएको थियो ।
प्रतियोगितामा खोटाङकै महिला रेफ्रि शशी राई, रोदिना राई र युनिसा राईसहित अन्य दुईजना पुरुष निर्णायक थिए।
क्याप्सनः च्याम्पियन बनेपछि ट्रफि उचाल्दै हलेसीका खेलाडी तथा टिम प्रशिक्षक लगायत ।






