बागलुङ । भारत–चीन जोड्ने छोटो मार्ग हो कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान गौतम बुद्धको जन्मस्थान लुम्बीनी संग जोड्न सफल भएको छ ।
अहिले करिडोरको बाटो भएर भारतका पर्यटकहरु मुक्तिनाथ पुग्न थालेका छन् । भारतका पर्यटकहरुलाई मुक्तिनाथ पुग्ने सबैभन्दा छोटो बाटो कालीगण्डी करिडोर भएको हो । कालीगण्डकी करिडोरले भारतीय पर्यटकलाई मुक्तिनाथ पु-याउने र कालीगण्डकी तटीय क्षेत्रका पर्यटकहरुलाई लुम्बीनीसंग जोड्न सफल भएको बागलुङको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
उहाँले बागलुङको दक्षिण भेगको करिडोरका कारण मुहारै फेरिएको बताउदै अहिले सडक धमाधम कालोपत्र भइरहेको बताउनुभयो । करिडोर अन्र्तगत बागलुङमा मात्रै ४४ किमि सडक पर्दछ । जुन सडकले बागलुङको दक्षिण भेग बलेवा, कुश्मिसेरा, जैदि हुँदै छिस्ती छिचोलेर गुल्मी पुग्ने गरेको छ ।
“दक्षिण बागलुङको विकासको ढोका करिडोरले खोलेको छ, ट्रयाक खुलेको पाँच वर्षमै कालोपत्र भइरहेको छ, करिडोरको बाटो भएर भारतीय पर्यटक मुक्तिनाथ र चिनका पर्यटलाई लुम्बीनी भित्राउन सकिन्छ, कोरोला नाकाबाट चिनलाई भित्राउन सकिन्छ, त्रिदेशीय व्यापारीक सम्बन्ध स्थापित हुन्छ” शर्माले भन्नुभयो “करिडोर चौडा भएदेखिनै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बसहरु गैडाकोट देखि करिडोर हुँदै जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेको पाइन्छ, कालोपत्र सम्पन्न भएपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ, भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर हो ।”
बागलुङका स्थानीय सनम रानाका अनुसार कालीगण्डकी करिडोर बागलुङका लागि बरदान भएको बताउनुभयो । उहाँले बागलुङमा कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको मिलन बिन्दु पर्ने भएकाले पर्यटकीय क्षेत्रको विकासमा समेत सडक सञ्जालले सहयोग पु¥याउने बताउनुभयो ।
करिडोरको ट्रयाक खोलेको पाँच वर्षमा विभिन्न खण्डमा स्तरान्नती संगै धमाधम कालोपत्र समेत भइरहेको छ । गैडाकोट देखि चीनको सिमाना कोरला नाकासम्म करिडोरको ४९५ किलोमिटरको २०७६ सालमै नेपाली सेनाको सहयोगमा ट्रयाक खुला गरिएको थियो । कोरोला नाका सहज भएसंगै चिनका पर्यटकहरु समेत करिडोरबाट लुम्बीनै आउन थालेका हुन् ।
करिडोर निर्माण गर्ने २४ वर्ष अघिदेखिको योजना अहिले साकार हुँनेक्रममा छ । केही पक्की त केही कच्ची सडकमा अहिले पर्यटक चढेका सवारी साधन गुडिरहेको छ । दुई खण्डमा विभाजन गरेर कालिगण्डकी करिडोरको स्तरोन्नती र कालोपत्र चलिरहेको छ ।
गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्ड र मालढुङ्गा–बेनी–जोमसोम सडकखण्ड गरी यसको दुई भागमा विभाजन गरी काम भइरहेको छ जसअन्र्तगत गैडाकोट मालढुङ्गा खण्ड २४० किमि सडक रहेको छ भने मालढुङ्गा कोरला नाका २५५ किलोमिटर रहेको छ ।
गैडाकोट–मालढुङ्गा मालढुङ्गा खण्डको २४० किलोमिटर मध्ये १६२ अर्थात ६७ प्रतिशत सडक कालोपत्र भइसकेको कालीगण्डकी करिडोर गैडाकोट–मालढुङ्गा आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो । कालिगण्डकी करिडोरलाई त्रिदशीय सिधा सम्पर्क स्थापित गर्ने आर्थिक मार्गका रुपमा लिइरहेका छन् भने कतिपयले यस्लाई धार्मिक मार्गका रुपमा चित्रण गरेका छन् ।
सामाजिक अभियान्ता गुल्मीका टिकाराम ढकालले कालीगण्डकी करिडोर एक धार्मिक मार्ग भएको बताउनुहुन्छ । लुम्बनीदेखि मुक्तिनाथ हुँदैै मानसरोबर जानलाई करिडोरले सहजता लिएको भन्दै अझै कालोपत्र सम्पन्न भएपछि थप सहज हुँने उहाँको अपेक्षा रहेको छ ।
चीन र भारतलाई सिधा रुपमा जोड्ने करिडोरमा सवारीसाधन गुड्न थालेपछि भारतका तिर्थयात्रीहरु नेपाल आएर रुरु क्षेत्र हुँदै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ पुग्ने थालेका छन् । चीनका बौद्धमार्गीहरु भगवान गौतम बुद्धको पवित्र जन्मभुमी लुम्बिनीमा ल्याउने बातावरण मिलाउन आवश्यक रहेको ढकालको भनाई छ । ढकालले २४ वर्ष अघि करिडोरको परिकल्पना गुल्मीबाट गरेको बताउनुभयो ।
“दुई देश जोड्ने सिधा मार्गको काम करिडोरले गरेको छ, दुई वर्ष भित्र करिडोरको सबै सडक कालोपत्र हुन्छ, करिडोरले पूर्णता पाएसंगै भारतका लाखौं हिन्दु धर्मालम्बीहरु मुस्ताङको मुक्तिनाथ पुग्नेछन् भने चीनका लाखौं बौद्धधमालम्बीहरु लुम्बिनी आउनेछन, अहिले पर्यटक चढेका बसहरु हामीले देख्न सकिन्छ, सबै कालोपत्र भएमा पर्यटकको चाप हुँने अपेक्षा रहेको छ” ढकालले भन्नुभयो “कालीगण्डकी करिडोरले पवित्र कालीगण्डकी नदीको क्षेत्रमा रहेको रुरु, कालिका मन्दिर, गलेश्वर, मुक्तिनाथ मन्दिर जस्ता धार्मिक पर्यटकीय क्षेत्रलाई विकासमा टेवा पु-याउन थालेको छ ।”
करिडोर क्षेत्रमा त्रिवेणीधाम, देवघाटधाम, केलादीधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदर कुण्डजस्ता महत्वपूर्ण तीर्थस्थल पर्छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts