स्याङ्जा ।सङ्घीय सांसददेखि कार्यपालिका सदस्यसम्म समेटेर स्याङ्जामा जीवन विज्ञानको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघीय सांसद राजु थापाले उक्त कार्यक्रममा बोल्दै स्याङ्जामा ध्यान जिल्ला सदरमुकाममा एउटा व्यवस्थित ध्यान तथा योग केन्द्र स्थापनाको आवश्यकता भएको भन्दै यसका लागि आफूले पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो-जीवन विज्ञानको स्वजागरण अभियानबाट म प्रभावित छु, आजको तनावपूर्ण जीवनशैलीका बिचमा योग तथा ध्यानको महत्व बढेर गएको छ ।’ उहाँले स्याङ्जाका स्थानीय तहहरुले पनि ध्यान तथा योग केन्द्र स्थापना गरी स्याङ्जालाई आध्यात्मिक पर्यटनका माध्यमबाट जोड्नुपर्ने बताउँदै यसका लागि सबै पालिका प्रमुखहरुसँग पहलका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक भानु गुरुदेवले जीवन विज्ञानका आधारभूत विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले ७ वटा चक्र र त्यसले मानव जीवनमा पार्ने प्रभावका विभिन्न पक्षहरुमा प्रकाश पार्नुभएको थियो । उहाँको निर्देशनमा कार्यक्रममा ध्यान तथा विभिन्न शारीरिक अभ्यासका क्रियाकलापसमेत गरिएको थियो । प्रशिक्षक भानु गुरुदेवले नेपाल शिवजीको तपोभूमि तथा बुद्धको जन्मस्थल भएकाले आरोग्य पर्यटनका लागि विश्वकै सबैभन्दा उत्कृष्ट देश रहेकाले यसको महत्व र गरिमालाई विश्वसामु पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले हरेक कार्यालको काममा प्रभावकारिता ल्याउनका लागि पनि योग तथा ध्यानको आवश्यकता रहेको बताउनुभयो ।
प्रशिक्षणमा स्याङ्जा जिल्लाबाट गण्डकी प्रदेश सभामा स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख, स्याङ्जाका प्रहरी प्रमुख शालिगराम शर्मा, मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष भरत ढकाललगायत जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, राजनैतिक दलका नेता तथा प्रतिनिधिहरु, वडाध्यक्षहरु, उद्योगी व्यवसायी, पत्रकार, सुरक्षाकर्मी, शिक्षक तथा विद्यार्थीहरुसहित करिब ५०० जनाको सहभागिता थियो ।
जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्री श्रीप्रसाद जि.टी.को अध्यक्षतामा सिटी हलमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रम जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वय, जीवन विज्ञान परिषद्को सहकार्य र कर्मचारी मिलन केन्द्र स्याङ्जाको व्यवस्थापनमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत सुरेश भुसालले र स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख खड्गराज सुबेदीले गर्नुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता