काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता सुरु भएको छ । आइतबार बिहान सिंहदरबारमा उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति सुरु भएको छ ।
अन्तरवार्तामा दुई जना मात्रै उपस्थित हुनुभएको छ । यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाईँमध्ये अधिकारी र कार्की मात्रै उपस्थित भएका हुन् ।
चापागाईँ भने आज पनि अनुपस्थित रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि बोलाएर स्थगित भएको अन्तरवार्तामा पनि चापागाईँ सहभागी भएका थिएनन् ।
छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको थियो ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँचमध्ये यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुति हुनसकेको थिएन । दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् ।







