
पाल्पा । पश्चिम पाल्पाका छहरेलीहरुले यस वर्षको न्वागी पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी पर्वमा नयाँ धान देवतालाई चढाउनुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी सकिएको हो ।
यहाँ प्रत्येक वर्ष नयाँ धान रैनादेवी भगवतीलाई चढाउने दिनलाई न्वागी पर्वका रूपमा मनाउने प्रचलन छ । वर्षौंदेखि न्वागी खाने र भगवतीलाई चामल चढाएको दिनमा बृहत्त मेला लाग्ने गर्दछ । नयाँ धान भित्र्यापछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको हो । न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याउने प्रचलन भूवनपोखरी क्षेत्रमा छैन । यदि प्रयोग गरियो भने घरमा अनिष्ट हुने धार्मिक विश्वास छ । यसैले यहाँका किसानले परम्परागत रूपमा न्वागी खाने र पर्वका रूपमा मनाउने गर्छन् । दशैं, तिहारपछिको ठूलो पर्वका रूपमा न्वागीलाई लिइने गरिएको छ । यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसादस्वरुप खाने परम्परा रही आएको छ । यसरी चढाएपछि मात्र घरमा भित्र्याइएको नयाँ धानको भात खाने गरिन्छ । यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको बर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरुको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भएपनि न्वागीको समय पारेर घर आउने गर्छन् ।
उत्सव समापनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले पश्चिम पाल्पाको ऐतिहासिक पर्वको रुपमा न्वागी पर्व रहेको बताउनुुभयो । उहाँले भन्नुभयो ‘न्वागी पर्व कृषकको खेतीपातीसँग जोडिएको छ, धार्मिक आस्थासँग जोडिएको छ, परम्परागत जातजाती, कलासंस्कृतिको प्रदर्शन, जर्गेनासँग जोडिएकोले ऐतिहासिक पर्वको रुपमा न्वागी पर्वलाई लिन सकिने सभामुख घर्तीमगरले बताउनुभयो ।
पश्चिम पाल्पाको साथै गुल्मी र अर्घाखाँचीमा रैनादेवीको ठूलो महिमा र आस्था रहेकाले दिनहुँ धार्मिक पर्यटकहरुको आवत जावतमा वृद्धि भएको, धार्मिक तथा पर्यटकीय पुर्वाधारहरु निर्माण हुँदै गएकाले मन्दिरको महिमा दिनहुँ बढ्दै गएको छ । परम्परागत मौलिक कलासंस्कृतिले रमझममा रमाएका सहभागी अतिथिहरुले मन मस्तिष्कलाई ताजा जुझारु तथा सक्रिय बनाएको महशुस गरेका छन् । यस्ता मौलिक कला संस्कृति बचाउन वडा, स्थानीयतह, प्रदेश तथा केन्द्र सरकारबाट नितिगत रुपमा व्यवस्था गर्न अतिथिहरुले जोड दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले रैनादेवी क्षेत्र विकास निर्माणदेखी पुनर्निर्माणसम्म गाउँपालिकाले प्राथमिकता दिएर काम गर्दै आएको बताउनुुभयो । रैनादेवीको नामबाट गाउँपालिकाको नाम रहेकोले रैनादेवीको मन्दिर निर्माणको काम पालिकाले गर्दै आएको बताउनुुभयो । रैनादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पालिकाले विस्तृत योजना बनाएर काम गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
३ नं. वडा कार्यालय भुवनपोखरीले न्वागी उत्सवमा स्थानीय कला संस्कृतिलाई बचाउन, स्थानीय परम्परागत कलाकारहरुलाई उत्साहित बनाउन, एक पुस्ताबाट अर्काे पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न पालिकास्तरीय सोरठी नाच प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा ९ वटा सोरठी नाच प्रस्तुत भएकोमा पेलावास सोरठी नाँच समुह प्रथम भएको छ । सिद्देश्वर साउने मगर समाज सोरठी नाच समुह द्धितिय, जनप्रिय दाजुभाई नाँच समूूह अर्घाई तृतिय र साउनेली समाज सोरठी नाँच समूूह सान्तवना भए । वडा कार्यालयले विजयी हुने प्रथम समुहलाई नगद २० हजार प्रमाणपत्र, द्धितियलाई नगद १५ हजार प्रमाणपत्र, तृतियलाई नगद १० हजार र सान्तवनालाई नगद ५ हजार, सहभागी सबै समूहलाई यातायात खर्च उपलब्ध गराएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । विजयी नाँच समूहलाई प्रदेश सभामुख तुलाराम घर्तिमगर, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, वडा अध्यक्ष प्रदिप पौडेल, मन्दिर व्यबस्थापन समितिका अध्यक्ष मिनबहादुर दर्लामीले नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । विगत केही बर्षयता रैनादेवी मन्दिर धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास भईरहेको र यस क्षेत्रमा चहल पहल बृद्धि भएको वडा अध्यक्ष पौडेलले बताउनुभयो । रैनादेवी भुवनपोखरी गोखुङ्गाको न्वागी उत्सवह हेर्न जिल्लाका सभासदहरु, प्रमुख, जिल्ला अधिकारी सहित सुरक्षानिकायका प्रमुख, राजनीतिक दलका नेतागणहरुको सहभागीता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच