खोटाङ । जिल्ला कारागार खोटाङका कैदीबन्दी प्रशोधन नगरिएको खोलाको धमिलो पानी खाना बाध्य छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलस्थित कारागारका कैदीबन्दी मुडे खोलादेखि पाइपमार्फत ल्याइएको धमिलो पानी पिउन बाध्य भएका हुन् ।
कैदीबन्दीका लागि मुडेदेखि बग्ने खहरे खोलालाई खर (घाँस) तथा माटोले थुनेर अस्थाई इन्टेकसम्म पानी ल्याई त्यहाँबाट ३२ एमएमको पाइपमार्फत कारागारमा पानी ल्याइएको छ ।
झण्डै तीन किलोमिटर परदेखि त्यसरी ल्याईएको धमिलो पानीलाई कपडाले छानेर (प्रशोधन गरेर)खानुपर्ने बाध्यता रहेको निमित्त कारागार प्रशासक सोमप्रसाद आचार्यले बताउनुभयो। आचार्यका अनुसार कारागारमा पानीको समस्या स्थापनाकालदेखि नै बिकराल थियो । आफू प्रशासक भएर आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई दुईवटा हिलट्याङकी र ३२ एमएमको तीनसय मिटर पाइप मागेर अहिले यतिको खानेपानी व्यवस्थित गरिएको हो । उहाँका अनुसार अहिले एक हजार लिटरको दुईवटा हिलट्याङकीमा पानी जम्मा गरेर कपडाले छानेर पानी पिउनु परिरहेको छ ।
हिउँदमा कपडाले छानेर जसोतसो सङलो पानी पिउँदै आए पनि बर्खामा कपडाले छान्दा समेत धमिलो पानी पिउनु परिरहेको आचार्यले बताउनुभयो । बर्खामा त्यही भईरहेको मुहान तथा पाइपलाई भलबाढीले बगाउँदा दैनिकजसो पानीको समस्या हुने गर्छ । धमिलो पानी खाएकै कारण कैदीबन्दी प्रायः बिरामी हुने गरेको छ ।
‘बर्खामा भलबाढीले पाइप बगाएर लगिदिन्छ । पोहोर पाईपभित्र भ्यागुतो, सर्प पसेर कारागारमाथि राखिएको हिलट्याङकीमा पुगेछ । कारागारका कैदीबन्दी, कर्मचारी, सुरक्षाकर्मी गरी दुई सय जनाले उपभोग गर्ने पानी दूषित भयो ।’ आचार्यले भन्नुभयो “त्यस्तै पानी भए पनि खानैप¥यो ।”
कारागारको खानेपानीलाई व्यवस्थित गरिदिन तत्कालिन १ नम्बर प्रदेशका खानेपानीमन्त्री तथा हालको प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङलाई अनुरोध गर्दा ‘हुन्छ÷पहल गछुर्’ भनेको तर, हालसम्म केही प्रगति नभएको निमित्त कारागार प्रशासक आचार्यले सुनाउनुभयो ।
खोलाको धमिलो पानी १७० जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र १० जना कर्मचारीले पिउनु परिरहेको छ । बुधबार साँझ महान्यायाधिवक्ता रमेश बडालले कारागारकोे निरीक्षण पश्चात कैदीबन्दीलाई समस्या तथा गुनासो राख्न आग्रह गरेपछि कैदीबन्दी डम्बर बहादुर कार्कीले आफूहरुले बर्खामा खोलाको धमिलो पानी पिउनु परिरहेको समस्या बताउनु भएकाे थियाे ।
जिल्लाका सुरक्षा प्रमुख, सरकारी वकिल कार्यालय प्रमुख तथा वैतनिक कानून व्यवसायीसहित कारागारको वस्तुस्थिति निरीक्षण गर्नुभएका महान्यायाधिवक्ता बडालले खोलाबाट तानेर ल्याएको खानेपानीमा समस्या भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आश्वसन दिनुभएको छ। कारागार जीर्ण भएकाले त्यसको मर्मत तथा पुननिर्माणमा महान्यायाधिवक्ताको कार्यालयले गर्नुपर्ने काम गर्ने र सम्बन्धित निकायबाट गराउनुपर्ने कामहरुमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने महान्यायाधिवक्ता बडालले बताउनुभएको छ ।






