काठमाडौं । नक्साल नन्दीकेशर बगैंचामा मंसिर ८ र ९ गते वुमेन अफ द वल्र्ड (वाउ) को सातौँ संस्करण आयोजना हुने भएको छ । महिला र बालिकाले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयास कार्यक्रमको मूल्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
लैंगिक उत्तरदायी समाज निर्माण गर्न सार्वजनिक सरोकारका विषयमा सम्मेलनले धेरै मानिस एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ । जसका लागि ब्रिटिस काउन्सिलले काठमाडौं महानगरपालिका र द वाउ फाउण्डेसन बेलायतसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागेको हो । यस्ता कार्यक्रम सामान्यतया बन्द कोठाभित्र हुने गरेकाले खुला र सबैको पहुँचमा लैजान बगैंचामा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । १० हजारभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको सम्मेलनका लागि प्रवेश निःशुल्क गरिएको छ ।
महोत्सवमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले राजनीतिक प्रतिनिधित्व गर्नुहुनेछ भने कथा घेरा थिएटर, कर्णाली कला केन्द्रसहित गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, रचना दाहाल, गौमाया गुरुङसहित दुर्ई सयभन्दा धेरै महिला कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।
सो अवसरमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरू, स्थानीय उत्पादन तथा परिकार बिक्रीलगायत हुने बताइएको छ । ‘लैंगिक र समावेशी कार्यक्रम’ सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले ब्रिटिस काउन्सिलसँग गत वैशाख १० गते समझदारीपत्रमा हस्ताक्षर गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts