
झापा । स्थानीय हडिया खोलाको पक्की पुलमा परेको ठूलो भ्वाङका कारण झापाको धुलाबारी ( चन्द्रगढी सडक अवरुद्ध भएको छ ।
यो मेचीनगर र झापा सदरमुकाम चन्द्रगढीलाई जोड्ने मुख्य सडक हो । अहिले सो पुलबाट साउकल र मोटरसाइकल मात्रै पास भइरहेका छन् । तीन र चार चक्के सबै सवारी साधन तीन दिनदेखि सञ्चालन हुन सकेका छैनन् । मेचीनगर र भद्रपुर नगरपालिकाको सीमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा ठूलो भ्वाङ परेपछि आवागमनमा असहजता थपिएको हो ।
मुलुकको पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने मुख्यसडक अवरुद्ध हुँदा यात्रु लामो दुरीको यात्रा गर्न बाध्य छन् । सरकारी कामका लागि सदरमुकाम जानु पर्ने सेवाग्राहीमा सास्ती थपिएको छ । धुलाबारीबाट झापाको दक्षिणी क्षेत्र जानसमेत चारआली, बिर्तामोडनै जानू पर्ने भएको छ ।
सडक अबरुद्ध भएसँगै सिंगो मेचीनगर, बुद्धशान्ति र दक्षिण इलामको रोङ गाउँपालिकाका स्थानीय मारमा परेका छन् । मेची प्रादेसिक अस्पताल भद्रपुर उपचारका लागि जानसमेत समस्या भएको छ । मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान समेत समस्या भएको छ ।
सँगै भारतको दार्जिलिङ, सिलिगुडी, सिक्किमलगायतका क्षेत्रबाट आउने यात्रु समेत चारआली ( चन्दगढी सडकबाट यात्रा गर्न बाध्य भएका छन् । हडिया पुल अबरुद्ध हुँदा यात्रुका लागि धुलाबारी - चारआली र चारआली - चन्द्रगढी गर्नु पर्ने बाध्यता सिर्जना भएको छ ।
सो पुलमा एक वर्षअघि नै सानो भ्वाङ परेको थियोे । पटकपटक बालुवा र माटो हालेर जोखिमपूर्ण यात्रा गरिँदै आएको थियो । वर्ष दिन बितिसक्दा पनि सम्बन्धित निकायले बेवास्ता गर्दा यातायात अबरुद्ध भएको यात्रुले गुनासो गरेका छन् ।
सडक अबरुद्ध भएपछि मेचीनगर र भद्रपुर नगरपालिकाका नगर प्रमुखद्वय गोपालचन्द्र बुढाथोकी र गणेश पोखरेलले भ्वाङ परेको पुलको निरीक्षण गर्नुभएको छ । विगतमाभ्वाङ परेको पुलबाटै कयौँ पटक हिँड्नु भएको नगर प्रमुखद्वयले पुल टुलुटुलु हेर्ने बाहेक मर्मतको कुनै उपाय निकाल्न सक्नु भएन । पुल मर्मतको खर्च जुटाउन उहाँहरु असफल भएको सेवाग्राहीले बताएका छन् । पुल तत्काल मर्मत हुने सम्भावना नहुँदा स्थानीय आक्रोशित भएका छन् ।
पूर्वाधार विकास कार्यालय झापाका प्रमुख राजेश्वर महतोले पुल मर्मतमा ठूलो खर्च लाग्ने बताउनुभयो । पुल मर्मतको बजेटका लागि कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयमा लेखेर पठाएको उहाँले सुनाउनु भयो । ' पुल मर्मत गर्न मात्रै २० लाख बढी खर्च लाग्छ' प्रमुख महतोले भन्नुभयो, 'त्यो रकम हाम्रो कार्यालयसँग छैन, स्थानीय सरकारले पनि जुटाउने अवस्था देखिएन, त्यसैले प्रदेश मन्त्रालयमा फाइल पठाएका हौँ ।'
उहाँले प्रदेश मन्त्रालयबाट सहमति आए पछि १५ दिने सूचना निकालेर सिलबन्दी कोटेशन आव्हान गर्ने र त्यसका लागि समय लाग्ने बताउनुभयो । प्रदेश मन्त्रालयबाट बजेट र सहमति आएपनि एक महिना अघि पुल मर्मत हुने सम्भावना नरहेको उहाँको भनाइ छ । नरेन्द्रविक्रम नेम्वाङको पहलमा २०६५ सालमा २ करोड २१ लाख लागतमा पुल निर्माण गरिएको थियोे । तथापि, ठेकेदारको लापरबाहीका कारण त्यही बेलादेखि कमसल बनेको आवाज उठ्दै आएको थियो । यद्यपि, पुल जेनतेन चलिरहेको थियो।
गत वर्ष कोशी सरकारले गौरवको मुख्यपरियोजना अन्तरगत धुलाबारी -भद्रपुर सीमासम्मको ९ किलोमिटर सडक कालोपत्रे गरेपछि पुल चल्तीमा आएको थियोे । सो सडक सञ्चालनमा आएपछि सवारीको चाप बढ्नुका साथै त्यस क्षेत्रमा यातायातको सहजता भएको थियोे । सो सडक नबन्दा बर्षौसम्म धुलो खाएका स्थानीय पुलमा भ्वाङ परेसँगै अर्को सास्ती बेहोर्न बाध्य भएका छन् ।
पुल साँघुरो र जीर्ण बनेकोले नयाँ पुल निर्माणका लागि कांग्रेस महामन्त्री तथा झापा १ का सांसद विश्वप्रकाश शर्माको पहलमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। यो क्रमागत विकास निर्माण अन्तरगतको बजेट हो। तर, पुलमा भ्वाङ पर्दा अहिले स्थानीय सास्ती झेल्न बाध्य छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच