कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–९ लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत १५ महिनादेखि ’एकल महिला’ सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनुभएको छ ।
गाउँपालिकाले २०८० साउन महिनादेखि हालसम्मको १५ महिना पुग्दा पनि सामाजिक सुरक्षा भत्ता नवीकरण नभएको भन्दै गाउँपालिकाको लापरवाहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनुभएको हो ।
नरहरिनाथ गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारिको गैरजिम्मेवारीका कारण आफूमात्रै नभएर अरु धेरैले सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएको पीडित शााहीले गुनासो गर्नुभएको छ ।
०७१ सालमा पतिको मृत्यु भएपछि लगातार एकल महिला सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको भएपनि एक वर्ष अगाडिबाट रोकेका कारणले पारिवारिक समस्या समाधान गर्न कठिनाइ भइरहेको छ ।
नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले गत आर्थिक वर्ष वडामा नवीकरण नभएको तथा खाता नपाएका कारणले उपलब्ध गराउन नसकिएको र यो आर्थिक वर्षसम्ममा छिट्टै उपलब्ध गराइने उहाँले बताउनुभयो ।
नेपालको संविधान २०७२ को धारा ४३ मा आर्थिक रुपले विपन्न, अशक्त, र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुन बमोजिम सामाजिक सुरक्षाको हक हुने उल्लेख गरिएको छ ।
यसका बारेमा नरहरिनाथ गाउँपालिका–९ का वडाध्यक्ष प्रदीप बोहोराले पीडित शाहीसँग राष्ट्रिय परिचय–पत्र नभएका कारण गत आर्थिक बर्षको भत्ता नपाएको र यो साउनमा नवीकरण भएकाले पाउने प्रतिक्रिया दिनुभयो ।
संविधानको सोही धारा अनुरुप स्थानीय सरकारले गाउँपालिकाभित्रका एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने व्यवस्था भए पनि नरहरिनाथ गाउँपालिका–९, लालुकी ५७ वर्षीया अविन्दा शाहीले विगत एक वर्षदेखि एकल महिला सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनुभएको छ ।






