काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुशासन, सेवा प्रवाह तथा विकास निर्माणमा प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार सुशासन, सेवा प्रवाह र विकास निर्माण सम्बन्धी समस्याका विषयमा आयोगमा नियामक निकाय र सार्वजनिक संस्थानका प्रमुखहरूसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रम आयोगको सभा हलमा सम्पन्न भएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कार्यक्रममा अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सार्वजनिक संस्थानको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरुबारे संक्षिप्त प्रस्तुति भएको थियो भने आयोगबाट नियामक निकाय र सार्वजनिक संस्थानहरुको समस्या र सुझाव कार्यान्वयनको अवस्थाबारे प्रस्तुति भएको थियो। अन्तरक्रिया तथा छलफलको सहजीकरण आयोगका सचिव श्री घनश्याम उपाध्यायले गर्नु भएको थियो।
उक्त कार्यक्रममा उल्लेखित निकायका कार्यकारी प्रमुखहरुले आ-आफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्या, आयोगबाट पठाइएका सुझाव कार्यान्वयनको अवस्था तथा आयोगसँगको अपेक्षा प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा मन्तव्य राखेदै नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रर्वद्धनमा आयोगले गर्दै आएको कार्य को प्रसंशा गर्दै आगामी दिनमा समेत आयोगले अझ प्रभावकारी रुपले कार्य गर्दै जाने अपेक्षा रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सबैको भएकोले सबैले समन्वयात्मक ढङ्गले काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले प्रचलित कानुनको अधिनमा रही सार्वजनिक संस्थानले कार्य सम्पादन गर्नुपर्ने, नियामक निकायले सार्वजनिक र निजी क्षेत्रको प्रभावकारी नियमन गर्नुपर्ने, सार्वजनिक खरिद तथा निर्माण गर्दा कार्य औचित्य, आवश्यकता र वित्तीय तथा प्राविधिक सामर्थ्य समेतलाई विचार गरी सेवा प्रवाहमा प्रभावकारीता ल्याउने र सार्वजनिक सेवा प्रवाहमा टाइम कार्ड लागु गर्न उपयुक्त हुने विचार राख्नु भयो।
साथै, आयोगमा उजुरी परेर जानकारी माग भएको कारण देखाई काम रोक्ने प्रवत्ति देखिएकोले उक्त प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै उहाँले असल नियतसाथ कानुनले दिएको अधिकार प्रयोग गरेर जिम्मेवारीपूर्वक काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नभएको र विकासको काममा आइपरेका समस्या समाधान गर्न समन्वयको लागि आयोग तत्पर रहेकोले नियामक निकाय र सार्वजनिक संस्थानहरुले समेत आ-आफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने बताउनु भयाे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts