झापा । सत्तारूढ दुई दल कांग्रेस र एमालेका उम्मेदवारलाई हराउँदै प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका राजन चिमरिया चारआली साना शहरी खानेपानीको अध्यक्ष निर्वाचित हुनुभएको छ ।
चिमरियाले कांग्रेस र एमालेका अध्यक्षका उम्मेदवारभन्दा १४६ मत बढी ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हो । चिमरिया एक्लैले ९११ मत ल्याउनुभयो । कांग्रेस र एमालेका अध्यक्ष पदका उम्मेदवारद्वयले ७६५ मत मात्रै प्राप्त गर्नुभयो ।
कांग्रेस उम्मेदवार बालकुमार विष्टले २७२ र एमाले उम्मेदवार सन्तोष मेचेले ४९३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । खानेपानीको दुई हजार ६९५ मध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८२ मत खसेको थियो ।
लामो समयदेखि डेरी व्यवसाय गर्दै आएका चिमरिया नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्ष हुनुहुन्छ । उहाँ गएको स्थानीय तह निर्वाचनमा मेचीनगरको उपप्रमुखमा प्रतिस्पर्धा गर्ने योजनामा हुन्हुन्थ्यो । तर, पार्टीले प्रकाश भण्डारीलाई उम्मेदवार बनाएपछि उहाँ आफ्नो योजनाबाट पछि सर्नु भएको थियोे ।
पार्टीको संसदीय फाँटमा चिमरियाले अवसर नपाए पनि जनसेवाको अब्बल स्थान खानेपानीमा अवसर पाउनु भएको छ । खानेपानीमा अवसर मात्रै होइन, सत्तारूढ र पुराना दुई पार्टीलाई नराम्ररी पाखा लगाउनु भएको छ । चिमरियाको यो जीतलाई माओवादी पार्टीका कतिपय नेताले राजनीतिक उदयका रूपमा व्याख्या गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्वोले शुभकामना दिँदै भन्नुभयो, 'खानेपानी संस्थाको सामाजिक जिम्मेवारीसँगै अब अर्को नयाँ यात्रा प्रारम्भ भएको छ थप जिम्मेवार र जनउतरदायी बन्नुहोला ।' माओवादी झापा अध्यक्ष राजु आचार्यले शुभकामना दिँदै चिमरिया जनताको असल साथी र समाजको पहरेदारको भएको टिप्पणी गर्नुभयो ।
सो खानेपानीमा अहिले बधुसुदन निरौला अध्यक्ष हुनुहुन्छ । उहाँ एमालेबाट निर्वाचित मेचीनगर ११ को वडाध्यक्षसमेत हुनुहुन्छ । मेचीनगर ११, १२ , १३ र १४ एमालेको प्रभाव क्षेत्र हो । चारआली खानेपानीको बिस्तार पनि तिनै वडामा भएको छ । त्यहीका मतदाताले चिमरियालाई अध्यक्ष चुनेका हुन् ।
नौ सदस्यीय कार्यसमिति र लेखा समितिसहित १२ पदमा भएको निर्वाचनमा चिमरियाको साझा समूहका ११ जना निर्वाचित भएका छन् । एमाले समूहबाट मात्र सदस्यमा एकजना हरि घिमिरे मात्रै विजयी भएको निर्वाचन समितिले जनाएको छ । घिमिरेले चिमरिया समूहका डिल्लीराम अधिकारीलाई १०२ मतले पराजित गर्नुभएको हो । घिमिरेले ५८३ र अधिकारी ४८१ मत ल्याउनुभएको छ ।
लेखा समिति संयोजकमा कांग्रेस समूहका मोहन अधिकारी र चिमरिया समूहका अर्जुन खनाल बीच राम्रो प्रतिस्पर्धा भएपनि अरु पदमा चिमरिया समूहका उम्मेदवारले पाएको निक्कै बढी छ । अधिकारीलाई १४ मतले पछि पार्दै खनाल संयोजक निर्वाचित हुनुभएको हो । खनाल ५२२ र अधिकारी ५०८ पाउनुभएकोछ ।
चारआली खानेपानीको निर्वाचनमा कांग्रेस र एमाले बेग्लाबेग्लै समूह र माओवादी, राप्रपा, नेकपा समाजवादी, जसपा र रास्वपा संयुक्त समूह बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका थिए। सो क्षेत्रमा विपक्षी माओवादी बाहेक अन्य दलको प्रभाव खास छैन ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts