
काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । मंसिर १ गते शनिबार देशभरका अधिकांश शोहरू आउसफुल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै गत कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औं दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको १५औं दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिनुभएको छ ।
एकैदिनमा सर्वाधिक कमाउने नेपाली चलचित्रसमेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारंगी’ले सर्वाधिक कलेक्सनको रूपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने चलचित्रको रेकर्डसमेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ ।
‘पूर्णबहादुरको सारंगी’ले धेरै कलेक्सनसहित थुप्रै रेकर्ड बनाएको छ । नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र, छोटो समयमा १० करोड र २० करोड रुपैयाँ कलेक्सन गर्ने चलचित्र, सबैभन्दा धेरै दैनिक र साप्ताहिक शो पाउने, अधिकांश शो शोल्डआउट हुने सिनेमाको रेकर्ड ‘पूर्णबहादुरको सारंगी’ले बनाएको छ । ‘लो बजेट’मा निर्माण भएर धेरै कमाउने, स्टार कलाकारबिना नै बढी कलेक्सन गर्ने चलचित्रको रेकर्ड पनि ‘पूर्णबहादुरको सारंगी’को नाममा बनेको छ ।
बिहान चारदेखि मध्यरात पौने १२ बजेसम्म शो पाउने नेपाली चलचित्र पनि ‘पूर्णबहादुरको सारंगी’ नै बनेको छ । ‘पूर्णबहादुरको सारंगी’ अहिले पनि उच्च शो संख्यासहित चलिरहेकाले यसको कलेक्सन रकम अझै ठूलो भोलुममा वृद्धि हुने निश्चित छ ।
यो चलचित्र नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्णबहादुरको सारंगी’को नाममा आएको छ । साथै ‘पूर्णबहादुरको सारंगी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । ‘पूर्णबहादुरको सारंगी’ टिम चलचित्रको प्रचारका लागि नभएर मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल-हल पुगिरहेका छन् । यो भ्रमणमा निर्मातासँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत हुनुहुन्छ ।
सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल मुख्य भूमिकामा हुनुहुन्छ । प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटालगायत कलाकार चलचित्रको मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा संवाद महेश दवाडीले लेख्नुभएको हो । सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुनुहुन्छ भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहनुभएको छ ।
चलचित्रले गन्धर्व समुदायको कथा उठाएको छ । सारंगी बजाएर गुजारा चलाउने परिवारको कथा भनेको छ । एकल बुवाले छोरो हुर्काउन गरेको संघर्षको कथा भनेको छ । अभाव र दुःखको कुरा गरेको छ । छोरो पढाउन बुवाले गरेको दुःख र त्याग देखाइएको छ ।
उतारिएका अधिकांश हलको इजाजत रद्द, बोर्डले एक्सन लिने
नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’का निर्माण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै केही चलचित्र घरहरूले व्यापारमा छल गरिरहेको भन्दै ती हलहरूमा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छन् । सो निर्णयपछि चलचित्र विकास बोर्डले यस विषयलाई प्रतिक्रिया जनाएको छ ।
बोर्डले निर्माता पक्षको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण गर्दै सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको हो । बोर्डका अनुसार, ती हलहरूमध्ये केही हलको चलचित्र प्रदर्शन इजाजत पत्र रद्द भइसकेको भए पनि उनीहरूले बक्स अफिस प्रणालीको बेवास्ता गर्दै म्यानुअल टिकट वितरण गरी प्रचलित कानुनको उल्लंघन गर्दै आएको देखिएको हो ।
बोर्डले यस्ता गतिविधिलाई नेपाली चलचित्र क्षेत्रको अनुशासन र विश्वसनीयतामा गम्भीर चुनौतीको रूपमा लिँदै तत्काल छानबिन गरी कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ । यसअघि पनि ती हलहरूलाई लिखित र मौखिक चेतावनी दिइसकिएको स्मरण गराउँदै बोर्डले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६, आर्थिक ऐन, २०८१ र चलचित्र नियमावली, २०५७ को प्रावधान अनुसार कठोर कदम चाल्ने बताएको छ ।
विराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको बिणा हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दिबास हल, मोरङको विराटचोक हल, इनरुवाको सीवी हल, बहरथवाको दीपेक हल, बुटवलको द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेष्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली, इलामको इलाम हल, महेन्द्रनगरको लभकुस हल, त्रिमूर्ति हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलमा यो चलचित्र उतार्ने निर्णय निर्माताले गरेका थिए । निर्माताले उठाएको यो कदम र बोर्डको कडा चेतावनीले नेपाली चलचित्र क्षेत्रभित्र भइरहेको अनियमिततालाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने संकेत देखिएको छ ।
लालबन्दीमा विजय बराललाई भव्य स्वागत
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-९ का स्थायी बासिन्दा नायक विजय बराललाई शनिबार गृह नगरमा भव्य स्वागत गरिएको छ । उहाँ अभिनित चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ऐतिहासिक सफलतापछि बराल पहिलोपटक गृह जिल्ला आउनुभएको हो । बरालको आगमनमा स्थानीयवासीले उत्साहजनक स्वागत गर्दै उहाँलाई लालबन्दीको गर्वका रूपमा सम्मानित गरेका थिए । बराललाई स्थानीय जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले विशेष सम्मान प्रदान गरेको थियो । सो अवसरमा बोल्दै बरालले लालबन्दीवासीको माया र समर्थनप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा पनि गुणस्तरीय चलचित्रमार्फत नेपाली समाजलाई प्रतिनिधित्व गर्ने र आफ्ना दर्शकहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच