
झापा । जावलाखेलको डिएभी स्कुलमा शनिबार सप्पन्न प्रथम झापा १ काठमाडौँ कप फुटसल प्रतियोगिताको उपाधि साविक मेचीनगरले जितेको छ ।
प्रतियोगिताको फाइनलमा साविक धाइजनलाई ४–३ ले पराजित गर्दै मेचीनगरले उपाधि जितेको हो । विजेता टिम झापा १ का सांसद समेत रहनु भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगरको टिम पनि हो ।
नेपाली कांग्रेस झापा १ सांसद सचिवालय तथा झापा १ काठमाडौँ सम्पर्क समितिको संयुक्त आयोजनामा भएको खेल निक्कै प्रतिस्पर्धात्मक रह्यो । खेलमा धाइजनका देवासिस प्रसाईँले ह्याट्रिक गरे तर टिमलाई उपाधि दिलाउन सकेनन् ।
मेचीनगरका प्रथम कार्कीले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै देवासिसले धाइजनका लागि बराबरी गोल गरे रोहन कार्कीले लगातार दुई गोल गर्दै अग्रता ३–१ मा पुर्याए । देवासिसले अर्को गोल गर्दै धाइजनलाई ३–२ को स्थितिमा ल्याए । लगत्तै प्रथमले अर्को गोल गर्दै मेचीनगरलाई ४–२ को अग्रता दिलाए ।
खेलको अन्त्यतिर देवासिसले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, उक्त ह्याट्रिकले धाइजन खेलमा फर्किन सकेन ।खेलको प्लेयर अफ द म्याच देवासिस भए ।
प्रतियोगितामा मेचीनगर र धाइजनसँगै साविक शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी र ज्यामिरगढीले प्रतिस्पर्धा गरेका थिए । उपाधिसँगै विजेता मेचीनगरले २१ हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो । मेचीनगरले व्यक्तिगत पुरस्कारमा पनि कब्जा जमायो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर मेचीनगरका जयश खनाल भए । प्लेयर अफ द टुर्नामेन्ट रोहन बूढाथोकी र सर्वाधिक गोलकर्ता अंकित दुलाल बने। उनीहरू दुवै मेचीनगरका हुन् । मेचीनगरलाई फाइनलमा पुर्याउन अंकितले सर्वाधिक आठ गोल गरेका थिए ।
मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरेको थियो । धाइजनले दोस्रो सेमिफाइनलमा ज्यामिरगढीलाई ३–० ले पाखा लगाएको थियोे। ज्यामिरगढीले ‘बाइ’ पाउँदै सिधैँअन्तिम चारमा स्थान बनाएको थियो । तर, उक्त मौकालाई ज्यामिरगढीले सदुपयोग गर्न सकेन ।
राजनीतिक नेताको टिम विजयी
झापाली राजनीतिक नेता र कलाकार बीचको मैत्रीपूर्ण खेलमा राजनीतिक दलको टिम विजयी बन्यो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलसँगै राजनीतिक दल विजयी भएको हो । राजनीति दलको टिमले कलाकारको टोलीलाई ६–१ ले पराजित गरेको हो ।
भाष्कर काफ्ले पनि पहिलो हाफमा गरेकी दुई गोलले राजनीतिक दलले ४–० को फराकिलो अग्रता लिएको थियो । दोस्रो हाफमा तीन गोल भयो । राजनीतिक दलका बालकुमार केसी र रञ्जित तामाङले समान एकरएक गोल गरे। कलाकारबाट बालकृष्ण निरौलाले सान्त्वना गोल फर्काए ।
राजनीतिक दलबाट शर्मा, काफ्ले, केसी, तामाङसँगै एलपी सावाँ, सेरोम कार्की र किशोर मगर मैदान उत्रिएका थिए । कलकारबाट प्रमोद खरेल, भानुभक्त ढकाल, टीका भण्डारी, सरोज ओली, प्रशान्त शिवाकोटी, योगेन्द्र उपाध्याय, अशोक शर्मा, समीर खरेल र अमीर शेखले खेकेका थिए ।
अन्य दुई मैत्रीपूर्ण महिला "ख " र व्यवसायीको टिम विजयी बने खेलमा महिला ख ले महिला "क"लाई १–० ले पराजित गर्यो । महिला खका लागि युनिशा प्रसाईँले गरेको गोल नै निर्णायक बन्यो । व्यवसायीको टिमले कर्मचारीमाथि ६–२ को सानदार जीत निकाल्यो ।
प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्नुभएको थियोे । उहाँले यस किसिमका प्रतियोगिताले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण हुने बताउनुभयो । राजनीतिक दलका तर्फबाट खेलकुद गतिविधि हुनु सह्रानीय बन्दै सभामुख घिमिरेले प्रशंसा गर्नुभयो ।
प्रतियोगितालाई कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलले गरेको सिर्जनात्मक कार्यको संज्ञा दिनुभयो ।
विजेता, उपविजेता टोली, उत्कृष्ट खेलाडी र प्रतियोगिताका पाहुनालाई झापा १ को सांसदसमेत रहनु भएको महामन्त्री शर्माले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिता उद्घाटन कार्यक्रममा झापा जिल्लाका कांग्रेस, एमाले, राप्रपा, माओवादीसहित राजनीतिक दलका नेताको उपस्थिति थियो ।
महामन्त्री शर्माको घोषणा
नेपाली कांग्रेसका महमन्त्री विश्वप्रकाश शर्माले निर्णायक समितिमा रहेका नेपाली टोलीका पूर्वप्रशिक्षक तथा पूर्वकप्तान हरि खड्का र अमनप्रताप अधिकारीलगायतले बनाएको उत्कृष्ट खेलाडीको सूचीबाट एक टोली बनाउने जानकारी दिनुभयो । "निर्णायक समितिबाट एक लिस्ट पाएको छु । त्यो लिस्टबाट झापा १ को एक टिम बनाउने छौं । त्यो टोलीले नेपालभर हुने प्रतियोगितामा झापा १ को प्रतिनिधित्व गर्नेछ " महामन्त्री शर्माले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच