काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ।
एमालेको विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले 'चिनियाँ कार्ड' खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भन्दै त्यसप्रति भर्त्सना गर्नुभएको हो ।
प्रचण्डको अभिव्यक्तिले नेपालको सार्भभौमसत्ता र परराष्ट्र नीतिमा समेत क्षति पुगेको एमालेको निष्कर्ष छ। एक सार्वभौम सत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने र त्यसका लागि बाह्य स्वीकृति आवश्यक नहुने पनि बताइएको छ।
'नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाउनु भएको थियो । अध्यक्ष प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उहाँले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गर्नुभएको थियो ।







