लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कांग्रेस-एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताउनुभएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका–५ गहतेमा आज गहते कालिका मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले विगतमा पटक–पटक सरकार परिवर्तन भएकाले विकास हुन नसकेको, त्यसले जनतामा निराशा छाएको र अहिलेको सरकारले आशा जगाएको बताउनुभयो ।
संविधानमा दिएको अधिकार कागजमा मात्र सीमित भइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले संविधानमा उल्लेख गरिएका हकअधिकार सुनिश्चित गर्न सरकार लागिरहेको स्पष्ट पार्नुभयो । उहाँले स्वास्थ्य, शिक्षा, यातायात, खानेपानीजस्ता आधारभूत सेवामा सबै जनताको पहुँच पुग्नेगरी काम गर्न सरकार लागिपरेको बताउनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले तत्कालै विकासको अनुभूति गराउन नसकिए पनि दुई पार्टीको सरकार आगामी साढे तीन वर्षसम्म रहने र सो अवधिभित्र जनताले केही न केही अनुभुति पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने एवं बेरोजगारीको समस्यालाई विस्तारै हटाउँदै जानेगरी सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।
आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गरीबमुक्त प्रदेश, घरघरमा खानेपानी, बिजुलीको उपलब्धता, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, स्मार्ट कृषि अभियान, तीन सयभन्दा बढी घरवासलगायत कामले तीब्रता पाएको उल्लेख गर्दै मन्त्री गुरुङले धेरै राम्रो काम गर्ने सोचका साथ विभिन्न अभियान सुरु गरे पनि अस्थिर राजनीतिका कारण सरकारको कामले गति लिन नसकेको स्मरण गर्नुभयो । उहाँले पाँच वर्ष नै मुख्यमन्त्री बनेर काम गर्न पाएको भए प्रदेशले काचुली फेरी सक्ने दाबी गर्नुभयो ।
सरकार गाउँगाउँमा विकास गर्न लगेपनि बसाइँ सराइ नरोकिएको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “बसाइँ सराई आजको समयको माग हो, आज कसैले रोकेर रोकिँदैन । पहिलाभन्दा अहिले धेरै विकास भए पनि विकासको तृष्ण र अनुभव पुगेको छैन ।”
रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts