म्याग्दी । म्याग्दीका महिलाहरु पछिल्लो समय व्यावसायिक रुपमा अल्लो र ढाकाबाट कपडा निर्माण र विक्री गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।
गाउँघर तथा पाखो ठाउँमा उम्रिएर त्यत्तिकै खेरजाने गाउँले भाषामा (चाल्ने सिस्नो) भनेर चिनिने अर्थात् अल्लोको पुवाबाट महिलाहरुले विभिन्न किसिमका कपडाहरु निर्माण गरी आम्दानी गर्न सफल भएका हुन् ।
एक जना उद्यमीले मासिक रुपमा दुईसय मिटर अल्लोको कपडा निर्माण गरी प्रतिमिटर रु छ सयका दरले विक्री गर्ने गरेका छन् । यसरी प्रतिमहिना रु एकलाख २० हजार भन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्र (सिएफसी)को भवन बनाइएको छ ।
अहिले त्यसै भवनभित्र अल्लो उद्यमी विष्णु गुरुङको नेतृत्वमा महिलाहरुले अल्लो पुवाबाट कपडा तयार गरिरहेका छन् । हिमाली अल्लो कपडा उद्योग समूह दर्ता गरी उनीहरु त्यसै उद्योगमार्फत नियमित रुपमा अल्लो पुवाको उत्पादनमा लागेको बताउँछन् । साझा सुविधा केन्द्रको भवनभित्र मेसिनको सहायतामा तान लगाएर अल्लोको कपडा तयार गर्ने गरिन्छ ।
विगतको समयमा अल्लो कपडा उत्पादन गर्ने कच्चापदार्थ जिल्लाको ओखरबोट, गूर्जा, लुलाङ, रुम र निस्कोटबाट ल्याएर कपडा बनाए पनि अहिले भने कुईनेमङ्गलेबाट अल्लो पुवाको कच्चापदार्थ आयात गर्ने गरिएको महिला उद्यमी बताउँछन् ।
पछिल्लोपटक कुईनेमङ्गलेबाट खच्चडमार्फत अल्लोको कच्चापदार्थ मगाएर त्यसलाई प्रशोधनपछि धागो बनाई अल्लो कपडा उत्पादन भइरहेको छ । कुईनेमङ्गले पुगेर त्यहाँका स्थानीय महिलाहरुलाई अल्लो पुवाको बारेमा जानकारीसहित तालिम दिएर १० जनाको समूह गठन गरेपछि अहिले उनीहरुले अल्लो पुवा सङ्कलन गरेर पठाइरहेको हिमाली अल्लो कपडा उद्योग समूहका अध्यक्ष विष्णु गुरुङले बताउनुभयो ।
विभिन्न ७ जना महिला उद्यमीहरु आबद्ध यस अल्लो कपडा उद्योग समूहमार्फत साझा सुविधा केन्द्रको भवनमा अल्लो पुवाको सहयोगमा कपडा उत्पादनलाई निरन्तरता दिइएको छ ।
सामुदायिक वन क्षेत्रमा अल्लो पुवा सङ्कलन गर्नका लागि समूहमार्फत डिभिजन वन कार्यालयबाट अनुमति लिई केजीका हिसाबले शुल्क तिरेर अल्लो पुवा सङ्कलन गर्ने गरिएको छ । कुईनेमङ्गलेको समूहले अल्लो पुवा सङ्कलन गरी त्यसबाट धागो निकालेर सदरमुकाम बेनीमा पठाउने गरेको महिला उद्यमी समेत रहेकी उद्योगका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
महिला उद्यमीहरुलाई लक्षित गरेर निर्माण गरिएको सिएफसीको भवनमा अहिले चारजना महिलाहरुले दैनिकजसो अल्लो धागोबाट कपडा उत्पादन गरिरहेका छन् । एक महिनाको अवधिमा २०० मिटर अल्लोको कपडा उत्पादन गरी यस केन्द्रमा महिला उद्यमीबाट वार्षिक रुपमा २४ सय मिटर अल्लोको थान कपडा उत्पादन गर्ने गरिएको महिला उद्यमी गुरुङले बताउनुभयो ।
अल्लोको धागोबाट उत्पादित थान कपडालाई प्रति मिटर छ सय रुपैयाँको दरले बिक्री गर्ने गरिएको छ । यसबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ । अल्लोको कपडा स्वास्थ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts