काठमाडौं । सबैका लागि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षा भन्ने नाराका साथ २०६९ साल १३ गते हेटौंडामा औपचारिकरूपमा मानव सेवा आश्रमको कार्यालय स्थापना गरी मानवताको प्रवद्र्धन अभियानमा लागेको मानव सेवा आश्रमले चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा भन्ने मूल नाराका साथ तेस्रो ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१’ सम्पन्न गरेको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा ३३ दिने उद्धार यात्रामा मुलुकका सातवटै प्रदेशमा सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानव सेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता थियो । असोज २६ गते अर्थात् दशैँ टीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा यात्राको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । ३३ दिनको उद्धार अवधिमा दुई सय ३६ सहयोगापेक्षी मानवहरूको उद्धार गरिएको मानव सेवा आश्रमले जनाएको छ । उद्धार हुनेमा एक सय ७९ पुरुष र ५७ महिलामध्ये पाँचजना बालिका र चार बालक रहेका छन् । मावन सेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाका अनुसार कोशी प्रदेशमा ४४, मधेश प्रदेशमा ४०, बागमती प्रदेशमा ५७, गण्डकीमा ३५, लुम्बिनीमा ४९, कर्णालीमा तीन, सुदूरपश्चिममा आठ गरी कुल दुई सय ३६ जनाको उद्धार गरिएको हो । यसअघि पनि आश्रमले पहिलो ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा–२०७९’ र दोस्रो ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ सम्पन्न गरिसकेको छ । बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरूपमा अति कमजोर र अनाथ १० हजार सात सय ६४ जनाको उद्धार हालसम्म गरिसकेकोमा तीमध्ये चार हजार दुई सय १६ जनाको परिवारसँग पुनर्मिलन गराई घरमै पुनस्र्थापना गरिसकेको आश्रमले जनाएको छ । त्यस्तै आठ सय ७७ जनाको सामुदायिक पुनस्र्थापना गरिएको छ ।
मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थाका एक हजार नौ सय छ जना संस्थाका २५ सेवा केन्द्रहरूमा आश्रित गराई स्वास्थ्य सेवा प्रदान गरिएको र हालै उद्धार गरिएका दुई सय ३५ जना सहयोगापेक्षी सडक मानवहरूलाई आश्रमका १५ सेवा केन्द्रमा आरक्षण गरिएको आश्रमले जनाएको छ । ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८१’ मंसिर ३ गते काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको प्रमुख आतिथ्यमा समापन हुने आश्रमले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts