काठमाडौं । आज (शुक्रबार) देखि नेपालबाट बंगलादेश विद्युत् निर्यात हुने भएको छ । भारतले नेपालबाट बंगालदेशमा विद्युत् बिक्री गर्न परियोजना स्वीकृत गरिदिएसँगै शुक्रबारदेखि नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गरिने भएको हो । भारतले नेपालबाट बंगालदेशमा विद्युत् बिक्री गर्न परियोजना स्वीकृत गरिदिएको छ । नेपाल विद्युत् प्राधिकरणले २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको विद्युत् बंगलादेश निर्यात गर्नेगरी स्वीकृतिका लागि भारतमा निवेदन दिएको थियो । भारतको केन्द्रीय विद्युत् नियम आयोगले बिहीबार मात्रै स्वीकृत गरेको हो ।
नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बंगलादेशमा विद्युत् पठाउनुपर्ने बाध्यता छ । सोही कारण पनि भारतले नेपाली विद्युत् बंगलादेशमा निर्यातअघि परियोजना नै तोकेर स्वीकृति लिनुपर्ने सर्त राखेको थियो । सोहीअनुसार नेपालले दुई परियोजना प्रस्ताव गरेको थियो । सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बंगलादेशमा विद्युत् निर्यात गरिनेछ । त्यसैले शुक्रबार एकदिन मात्रै बंगलादेशमा विद्युत् निर्यात हुनेछ । त्यसपछि अर्को वर्ष अर्थात् जुन १५ तारिखदेखि विद्युत् निर्यात हुनेछ प्राधिकरणले जनाएको छ ।
गत असोज १७ गते बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार (मन्त्री) सैयदा रिजवाना हसनको उपस्थितिमा नेपालतर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशतर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सझौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
बंगलादेशसँगको सम्झौताले मात्रै बंगलादेशमा विद्युत् निर्यात गर्न सकिने अवस्था थिएन । भारतीय प्रसारण लाइन प्रयोग हुने भएकाले भारतीय सर्त पनि लागू हुनेछ । सोही सर्तअनुसार बंगलादेशमा विद्युत् निर्यात गर्न भारत सरकार (केन्द्रीय विद्युत् नियमन आयोगबाट परियोजना नै तोकेर स्वीकृत लिनुपर्छ । भारतमा पनि विद्युत् निर्यात सोहीअनुसार हुँदै आएको छ ।
नेपालसँग सीमा नै नजोडिएको तेस्रो मुलुक अर्थात् बंगलादेशमा पहिलोपटक विद्युत् निर्यात हुँदै छ । जुन दक्षिण एसियाकै पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउनेछ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चारसय केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा रहेको मिटरको आधारमा पाउनेछ । ढल्केबरबाट मुजफ्फरपुर सम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै व्यहोर्र्ने भने मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर भारत-भेरमारा बंगलादेश चारसय केभी प्रसारण लाइन हुँदै बंगलादेशमा नेपाली विद्युत् पुग्नेछ । सोबापत भारतले पनि निश्चित शुल्क पाउनेछ ।







Breaking news with related posts