सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाहको दिन आज सिन्धुलीका तीन वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको दुधौली नगरपालिका, कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
यी पालिकामा दनुवार समुदायको बाहुल्यता रहेको र सो समुदायले यस दिनलाई बर्की एकादशीका रुपमा विशेष हर्षोउल्लासका साथ मनाउने भएकाले सार्वजनिक बिदा दिइएको पालिका प्रमुख बताउँछन् । दनुवार समुदायले बर्की एकादशी आफ्नो संस्कारअनुसार चार दिनसम्म मनाउँने गर्दछन् ।
दनुवारको मौलिक कला, दनुवारी भाषा, संस्कृति र संस्कारको संरक्षण तथा संवर्द्धनका लागि जिल्लामै दनुवार समुदायको बाहुल्यता भएको दूधौली नगरपालिकाले बर्की एकादशी पर्वको तेस्रो अर्थात् मुख्य दिन २०७५ सालदेखि वर्षेनी सार्वजनिक बिदा दिँदै आएको छ । बहुसंख्यक आदिवासी दनुवार जातिको विशेष पर्व हरिबोधनी एकादशी (बर्की एकादशी) को उपलक्ष्यमा वर्षेनी बिदा दिन थालिएको नगरप्रमुख दिनेशकुमार अधिकारी दनुवारले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ मंसिर २०७५ मा बसेको दूधौली नगर कार्यपालिको बैठकको निर्णय बमोजिम यस वर्ष पनि कात्तिक २७ गते अर्थात् बर्की एकादशीको मुख्य दिन सार्वजनिक बिदा दिइएको छ । यसदिन नगरअन्तर्गत रहेका सरकारी कार्यालय, विद्यालय, संघसंस्थामा सार्वजनिक बिदा रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी हरिहरपुरगढी गाउँपालिकामा कात्तिक २४ गते बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
कमलामाई नगरपालिकाले भने नगर कार्यपालिकाको कार्यालय र सो अन्र्तगत रहेका कार्यालयहरुमा कार्यरत दनुवार समुदायका कर्मचारीहरुलाई मात्रै सार्वजनिक विदा दिएको छ । दनुवार समुदायका कर्मचारीहरुलाई मात्रै मंगलबारसार्वजनिक विदा दिने निर्णय सोमबारको बैठकले गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टाईद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
लोपाेन्मुख जातिमा सूचीकृत दनुवार समुदायको धर्म जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको बताइएको छ । स्थानीय सरकारले सार्वजनिक बिदा दिन पाउने प्रावधानअनुरुप पालिका कार्यपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिइएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच