काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुर्ई सय ५० मिटर उचाइमा रहेको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बेस क्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको हो ।
बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स-साना रेस्टुरेन्ट सञ्चालित छन् भने विद्युत् ग्राहक संख्या १५ रहेको छ ।
बेस क्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स-साना रेस्टुरेन्ट सञ्चालित छन् । बेस क्याम्पमा विद्युत् ग्राहक संख्या १५ रहेको छ । राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ । सौर्य ऊर्जाको ब्याकपले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका-९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय लाइन पुगेपछि बेस क्याम्पबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ, विद्युत्को प्रयोग गरी पानी उमाल्न थालिएको छ, जसले गर्दा ग्याँसको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ ।’ बेस क्याम्पमा होटलसमेत सञ्चालन गर्दै आउनुभएका वडाध्यक्ष गुरुङले भन्नुभयो, ‘लामो लाइन भएकाले ट्रिपिङ हुने समस्या छ, लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन सकिएमा होटलमा एसी राख्न र खाना पकाउन विद्युतीय चुलो इन्डक्सन प्रयोग गरी ग्याँसको प्रयोगलाई पूर्णरूपमा कटौती गर्न सकिन्छ ।’ उहाँले उक्त क्षेत्रमा दाउरा महँगो हुने भएकाले खाना पकाउन, पानी उमाल्न ग्याँसको प्रयोग हुने गरेको उल्लेख गर्नुभयो ।
केही दिनअघि मनाङ ङिस्याङ गाउँपालिका-९ खाङ्सार पुग्नुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवं पर्यटकीय क्षेत्र उज्यालो बनाउने अभियानअन्तर्गत तिलिचो तालको बेस क्याम्पमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको बताउनुभयो । वडाध्यक्षसहित स्थानीयसँगको छलफलमा कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘बेस क्याम्पमा राष्ट्रिय ग्रिड पुर्याउनमा केन्द्रित थियौँ, ठूलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत हुने मनाङ जिल्लाको समग्र विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन लाइन सुधारलगायतका काम उच्च प्राथमिकतामा राखी अगाडि बढाउनेछौँ ।’
लमजुङको मस्र्याङ्दी गाउँपालिका-५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका-१ स्याक्र्युस्थित ३३/११ केभी सबस्टेसन पुर्याइएको छ । उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै बेस क्याम्पमा पुर्याइएको हो ।
प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ । राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएको बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताउनुभयो ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका-१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भई त्यहाँबाट लाइन दिन सुरु गरेपछि मनाङको विद्युत् आपूर्तिमा सुधार हुने प्राधिकरणले जनाएको छ । धारापानी सबस्टेसनमा स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि आवश्यक संरचनाको व्यवस्था गरिएको छ । उक्त सबस्टेसनबाट लाइन दिन थालेपछि प्रसारण लाइन लम्बाइ घटी विद्युत् आपूर्तिमा सुधार हुनेछ । धारापानी सबस्टेसन डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts