हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ ।
मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताउनुभयो ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युत्भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, तेसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।”
पूर्वप्रधानमन्त्री एवं अध्यक्ष दाहालले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताउनुभयो । उहाँले थानकोन–चित्लाङ–चन्द्रागिरी सडक गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्रे गर्ने, फोदगाउँ वस्ती बचाउ कार्यक्रममा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रको पहलकदमीमा बागमती सरकारको लगानीमा कबर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दामगाडे महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताउनुभयो ।
रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts