बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ-पूर्वी रुकुम खण्ड अलपत्र परेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका-६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका-१ रुपगासम्मको १३ किलोमिटर सडक अलपत्र परेको हो ।
वि.सं. २०७३ जेठ १३ गते कालोपत्र गर्नका लागि सम्झौता भए पनि अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नविन खरालले जानकारी दिनुभयो । भारत/महादेव खिम्ती/सिद्धी शाहीले वि.सं. २०७६ जेठ १२ गतेसम्म काम सक्नु पर्ने भए पनि हालसम्म नसकेको उहाँको भनाइ छ । इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीले हालसम्म पाँच पटक म्याद थप गरि सकेको छ ।
अन्तिम पटक वि.सं. २०८९ भदौ ५ गते म्याद थप गरे पनि काम नगरेको खरालले बताउनुभयो । वि.सं. २०८० असार ३१ गतेसम्म म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उहाँको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काममा नआएको खराल बताउनुहुन्छ । आयोजना आर्यालयले निर्माण कम्पनीलाई ताकेता गरे पनि काममा फर्किएको उहाँले बताउनुभयो । सडक कालोपत्रका लागि रु ४२ करोड ९९ लाख ४ हजारमा सम्झौता भएको थियो ।
इन्जिनियर खरालले भन्नुभयो - “धेरै समय भयो निर्माण कम्पनीले यो खण्डका काम गरेको छैन, हामीहरुले बारम्बार काम गर्नका लागि आग्रह गरेका छौँ, पाँच पटकसम्म म्याद थप गर्दा पनि काम सकिएन, सडकमा अब धेरै काम छैन, कामदार र मेसिन लगाएर धमाधम काम गरे ३० प्रतिशत का चाँडै सकिने थियो, भौतिक प्रगति ७८ प्रतिशत पुगेको थियो, भत्किएर अहिले सत्तरीमा झरेको छ ।”
गाडी चालक कुलबहादुर केसीले बागलुङ र लुकुम गाउँ बीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न निकै समस्या रहेको बताउनुभयो । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटना जोखिमसमेत रहेको भन्दै दुई वर्ष अगाडि निर्माण कम्पनीले कामदार लगाएर काम गरे पनि अहिले सडकमा बिच्याएका गिट्टी सबै सडकमा छरिएको उहाँको भनाइ छ ।
सडक लामो समय कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका-१ का पृथमान गुरुङले बताउनुभयो । सडक छेउछाउमा थुप्रै गाईभैसी र भेडा गोठ रहेको भन्दै धुलो र हिलोले गोठाला र वस्तुभाउ बिरामी पर्ने गरेको उहाँको भनाइ छ । हिउँदमा गाडी गुड्दा लोकमार्गको धुलो गोठालको भान्छासम्म पुग्ने र गाईभैसीसमेत पुरिने भन्दै सरकारले सडक छिटै कालोपत्र गर्नु पर्ने गुरुङ बताउनुहुन्छ ।
“यो सडक खुलेको धैरै वर्ष भयो, अहिलेसम्म कालो पक्की बन्न सकेन, गाउँको बीचबाट सडक गएको छ, दिनदिनै गाडीले धुलो उडाउँदै जान्छन्, धुलो र हिलोले वस्तुभाउ र मान्छे बिरामी पर्छन्” उहाँले भन्नुभयो - “ठूलाठालु मान्छे गाडीमा सिसा लगाएर हिँड्छन्, हामी गरिब किसानलाई धुलो र हिलोले हैरान बनायो ।”







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts